काठमाडौं। घरबाट निस्किएका फोहोरलाई हामी काम नलाग्ने सोचर फ्याँक्छौँ। केही नकुहिने फोहोरलाई संकलन गरेर पुन:प्रयोग तथा पुन:चक्र गरेको पनि देख्छौँ। नकुहिने फोहोरलाई पुन:चक्र मार्फत विभिन्न कामका लागि प्रयोग गरिन्छ भन्ने त सुनिएको र देखिएको कुरा हो। तर फालिएको प्लास्टिकको बोतलबाट कसैले समुन्द्रमा रिसोर्ट बनाउन सक्छ भन्ने कुरा तपाइँ विश्वास गर्नसक्नु हुन्छ? विश्वास त परको कुरा कल्पनासम्म गर्दा पनि अनौठो लाग्ला तर यो कल्पना होइन वास्तविकता हो।
अफ्रिकाको दुर्गम देश आइबोरि कोस्टमा एरिक नामका एक व्यक्तिले प्रयोग गरेर फालिएका प्लास्टिकका बोतल भेला पारेर समुन्द्रमा रिसोर्ट निर्माण गरेका छन्। रिसोर्ट मात्र होइन उनले भरपूर मनोरञ्जनसहितको होटल रिसोर्ट नै सञ्चालन गरिरहेका छन्।
केही नयाँ गर्ने सोचका साथ अवसरको खोजिमा निस्किएका एरिकले समुन्द्रमा प्लास्टिकको बोतल तैरिरहेको देखेपछि उनमा नयाँ उपाय फुरेको थियो। त्यसपछि उनले समुन्द्र वरपर प्रयोग गरेर फालिएका प्लास्टिकका बोतलहरु भेला पार्न थाले। एरिकले ८ लाख बोतलबाट समुन्द्रमा आइसल्याण्ड निर्माण गरे जहाँ दुई वटा होटल, दुई वटा स्विमिङ पुल र कराओके बार छन्। त्यसैगरी एरिकले ‘तैरिने आइसल्याण्ड’ नाम राखेको उक्त रिसोर्टमा दुईवटा बंगला, एउटा रेष्टुरेन्ट, दुई साना पोखरी, विभिन्न रूखहरू र एउटा पैदल मार्ग छ । रिसोर्टमा बिजुली बत्तिको लागि सोलार प्रणालीको प्रयोग गरिएको छ।
रिसोर्टमा जानको लागि डुंगाको प्रयोग गर्नुपर्ने हुन्छ। यहाँको खाना खान र फर्कने खर्च जोडेर एक जनाबाट एक दिनको १५ हजार सीएफए फ्रान्स अर्थात नेपाली २ हजार ९२९ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने एक रात बसेको ६० हजार सीएफए अर्थान ११ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ।
एरिकले कुनै पनि कुरा खेर जाँदैन भनेर पुन प्रयोगका लागि सबैलाई सिकाइरहेको बताएका छन्। उनले एउटा आइसल्याण्ड बनाएर मात्र आफू नरोकिने बताउँछन्। उनी अरु धेरै प्लास्टिकका बोतल लगायत फालिएका वस्तु भेला गरेर अन्य धेरै आइसल्याण्ड बनाउने र फालिएका वस्तुको सदुपयोग गर्दै जाने बताउँछन्। उनले अन्य मानिसलाई पनि कुनै पनि वस्तुलाई फोहोरको रुपमा नफाल्न अनुरोध गर्छन्।
भिडियाे : 'भिडियाे क्लिप' यूटुब च्यानलबाट