भक्तपुर। २०७२ सालको विनाशकारी भुकम्पले क्षती पुरयाएको जेतवर्ण महाविहार पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ। पछिल्लो समय उपत्यकाभित्र रहेको पुरातात्त्विक महत्त्वका संरचनाहरुको पुन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ। त्यसैले यस्ता संरचनाहरुको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यसैक्रममा मध्यपुरथिमि नगरपालिका–६ अन्र्तगत रहेको ३०० वर्ष पुरानो जेतवर्ण महाविरले मौलिक स्वरुपमा पुनर्जीवन पाएको छ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको बौद्धमार्गीको महत्त्वपुर्ण महाविहारको पुनःनिर्माण हुन सकेको थिएन। तर हाल जीर्णोद्धार तथा पुनःनिर्माणको क्रममा महाविहार ३०० वर्ष पुरानो स्वरुप र शैलीमा नै पुनःनिर्माण भएको छ। नगरपालिकाले ५४ लाखको लागतमा नेपाल संवत् ८२५ मा राजा भूपतिन्द्र मल्लले निर्माण गराएको यस महाविरको निर्माण सम्पन्न गरी एक पाटाको विधिवत रुपमा उद्घाटन गरेर नियमित धार्मिक कार्य पनि सञ्चालन हुन थालेको छ।
उक्त महाविहारको पुनःनिर्माणमा मल्लकालीन प्रविधिको प्रयोग गरेको छ। यो मल्लकालीन प्रविधिको प्रयोग गरिएको नमुना सम्पदा पनि हो। यसको निर्माणमा पहेँलो, सेतो र कालो माटो प्रयोग गरिएको छ भने बाहिरपट्टि नेपाली परम्परागत रुपमा तयार पारिने लिउन लगाएको छ। विहारको अन्य भागको निर्माण सम्पन्न गर्नको लागि नगरपालिकाले ७५ लाख बजेट विनियोजन गरेको छ। बाँकी काम पनि यसै वर्ष सम्पन्न गर्ने योजना रहेको छ।
यस नगरपालिकाले पुनःनिर्माणको क्रममा थिमिको ५ वटा विहारको जीर्णोद्धार गरिसकेको छ। अरनिको राजमार्गसँगै टासिँएको फोहोर फाल्ने भिरालो जमिन अहिले ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थिएटरसहित सुन्दर पार्कमा परिणत भएको छ भने उक्त स्थानमा परम्परागत पार्टी र सुचना केन्द्र निर्माणको काम पनि सुरु भैसकेको छ।
पुर्खाले जोडेको महत्त्वपुर्ण सम्पदाको अस्तित्त्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले ४ वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेको २५ वटा ढुङगेधारा, इनारको संरक्षण गर्नुको साथै १५ वटा पोखरीको पुनःनिर्माण भएकोमा ६ वटाम पानि भरिएको र बाँकी रहेकोमा काम भईरहेको तथा उक्त क्षेत्रको ३ वटा दरबारको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको कुरा नगरपालिकाले जानकारी दिएको छ।