फाइल तस्बिर
सिमकोट। च्याटरा सडक निर्माण गरेको कम्पनीले पूरा भुक्तानी नपाएको बताएको छ। ६ वर्ष लगाएर कठिन बाटो बनाए पनि आफूले भुक्तानी नपाएको निर्माण कम्पनी श्री जयन्ती ऐडी जेभीका प्रतिनिधि तेजबहादुर महतले बताएका हुन् ।
लागत अनुमान अनुसार काम गरेको भए पनि हिल्सा सिमकोट सडक आयोजनाले केही काम बाँकी रहेको भन्दै भुक्तानी नदिएको हो। च्याछरा क्षेत्रमा ५२ हजार घनमिटर कडा चट्टान फुटाउने काम पूरा भएको छ ।
अर्को एक हजार चार सय घनमिटर ग्याबिनको काम गर्नु पर्ने भए पनि एक हजार सात सय घनमिटर काम गरिएको दाबी निर्माण कम्पनीको छ । यस्तो अवस्थामा आयोजनाले भुक्तानी नदिनु उपयुक्त नरहेको उनीहरुको भनाइ छ ।
३६ देखि ४२ मिटर उचाईको भिर फुटाएर चारदेखि सात मिटर चौडा सडक निर्माण गरिएको थियो । सडकको सतह मिलाएर आठ महिना अगाडि गाडी समेत सुचारु भएकाले भुक्तानी रोकिन नहुने निर्माण कम्पनीको भनाइ छ ।
आयोजनाले भने सडकको सहत नमिलेको बताउँदै आएको छ । आफूहरुले कामको मूल्यांकन स्थलगत रुपमा गर्नका लागि गरिएको आग्रह पनि आयोजनाले नमानेको दाबी कम्पनीको छ ।
२०७२ सालमा सो खण्डको सडक निर्माणका लागि निर्माण कम्पनीसँग तीन करोड २२ लाखमा सम्झौता भए पनि नेपाली सेनासँग बिस्फोटक पदार्थ लिन लामो प्रकृया लागेकाले काम दुई वर्ष ढिला भएको थियो । यस्तै कोरोना भाइरसको महामारीका कारण पनि काम प्रभावित भएको थियो । आफूहरुले गरेको कामको भुक्तानी नपाएमा कानुनी उपचारमा जाने पनि कम्पनीले जनाएको छ ।
तर आयोजनाका ईन्जिनीयर निरज कुमार राजवंशीले च्याछरा भीरको काम ८० प्रतिशत सम्पन्न भएको बताए । २० प्रतिशत काम बाँकी रहेका कारण भुक्तानी रोकिएको उनको भनाइ छ । सो खण्डमा अब चट्टानी क्षेत्रको सतह मिलाउने काम बाँकी रहेको बताए । हालसम्म आयोजनाबाट निर्माण कम्पनीले एक करोड ९० लाख रुपैयाँ विभिन्न समयमा भुक्तानी लिएको छ । देशसञ्चारबाट