धनुषा। जनकपुरधाममा अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले जनकपुरमा २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा विनय शाहले जानकारी दिए ।
डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए ।
उनले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अस्पतालको शिलान्यास गर्ने जानकारी पनि दिए ।
फाउन्डेशनका अध्यक्ष डा शाहले भने, ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ ।’
‘उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ’, डा शाह भन्छन्, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने छौँ ।’
अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको डा शाहले जानकारी दिए।
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे ।
हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ ।