काठमाडौं। समयमा काम सम्पन्न नगर्ने ७२ वटा निर्माण कम्पनीको नाम प्रकाशित गरिएको छ। नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग कार्यालयले काम ढिला गर्ने ७२ वटा निर्माण कम्पनीको नमावली प्रकाशित गरिएको हो।
सडक विभाग संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन डोटीले २० वटा निर्माण कम्पनी, संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन हेटौंडाले १८ वटा निर्माण कम्पनीको र सडक डिभिजन जनकपुरले ३८ निर्माण कम्पनीलाइ स्पष्टीकरण सोधेको छ।
सडक डिभिजन जनकपुरले सूचना जारी गरी यस कार्यालयको विभिन्न ठेक्काहरु अर्न्तगत कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको भन्दै ३८ वटा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ। कार्यालयले पटक पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको, साथै कार्य सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टीकरण ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं उपस्थित भएर स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। यदी सन्तोसजनक स्पष्टीकरण नआए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाही प्रकृया अगाडी बढाउने कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय डोटीले सूचना जारी गरी यस कार्यालयसँग निम्नानुसारको निर्माण कार्य गर्ने सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नगर्ने २० वटा निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ। निर्माण कार्य सम्पन्न गर्नका लागि यस अघि पनि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म निर्माण कार्य गर्ने तर्फ कुनै चासो नदेखाएको हुँदा के कारणले समयमा काम सम्पन्न गर्न नसकेको हो यदी कुनै मनासिव कारण भएमा विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन उक्त कार्यालयले निर्देशन दिएको छ। अन्यथा ठेक्का सम्झौतका शर्त, सार्वजनिक खरिद ऐन तथा नियमावली र प्रचलित कानुन बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले समयमा काम नगर्ने १८ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। विभिन्न योजनाहरुको कार्य तोकिएको समयअवधि भित्र सम्पन्न गर्न पटक–पटक लिखित एवं मौखिक रुपमा जानकारी गराउँदा समेत तोकिएको म्याद भित्र सम्पन्न हुन नसक्ने देखिएकाले काम सम्पन्न हुन नसकेपछि स्पष्टीकरण बुझाउन कार्यालयले १८ वटा निर्माण कम्पनीलाइ निर्देशन दिएको हो। अन्यथा ठेक्का सम्झौताका शर्त, सार्वजानिक खरिद ऐन, २०६३ तथा सार्वजानिक खरिद नियमावली, २०६४ वमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारवाही अगाडी बढाइने कार्यालयले जनाएको छ।
समयमा निर्माणको काम सम्पन्न गर्न नसक्नुमा केही मात्रामा निर्माण व्यवसायीको कमिकमजोरी भएतापनी कतिपयकाममा भने स्थानीयको अवरोधका कारण समयमा सम्पन्न हुन नसकेको बुझ्न सकिन्छ। किनभने विभिन्न काममा जग्गा देखि मुअब्जासम्मको काममा निर्माण कम्पनीलाई समयमा सहज तरिकाले काम गर्न स्थानीयले अवरोध गरिरहेको पाइन्छ। यसैगरी कतिपय काममा कामगर्ने कार्यालयले विभिन्न पक्षमा सहयोग गर्न नसकेको कारणले पनि निर्माण समयमा सम्पन्न हुन नसकेको पाइन्छ। यसको बाबजुद विश्व भर फैलिएको कोरोनाको महामारीले पनि निर्माणको काममा धेरै क्षति पुर्याएको थियो। जसले गर्दा समयमै सम्पन्न गर्नु पर्ने काम सम्पन्न हुन सकेन। अहिले निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको अभावका कारण पनि निर्माण कार्यमा ढिला भएको छ। युक्रेन युद्धसँगै अत्याधिक रुपमा बढेको निर्माण सामाग्रीको मूल्य वृद्धिका कारण निर्माण कार्य ढिला मात्र भएको छैन, निर्माण व्यवसायीलाई आफ्नै व्यवसाय निल्नु न उकेल्नु भएको छ। यस्तो अवस्थामा यसरी निर्माण कम्पनीको नामावली प्रकाशित गर्दा निर्माण व्यवसायी थप निरुत्साहित भएका छन्।