काठमाडौं। शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले काठमाडौं शहर दिन प्रतिदिन कुरुप बन्दै गएको बताएकी छन्। मंगलवार आयोजित राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्वन्धि परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले काठमाडौं कुरुप बन्दै गएको र हेर्न लायक सम्म नहुने अवस्था आउन लागेको बताएकी हुन्।
उनले भनिन्, ‘शहर कुरुप छ, यस्तै हो भने यो बस्न होइन हेर्न लायक पनि नहुने अवस्था आउन सक्छ। खोला नालामा परिणत भएका छन्, वर्षा लाग्यो भने खोला वस्तीमा पस्छ । खोलामा वस्ती बसाएका छौं, खोला वस्तीमा होइन, वस्ती खोलामा पसेको हो।’
ढल खानेपानी बाटो यातायात आम मान्छेले शहरी मन्त्रालयले हेर्ने हो भन्ने बुझेका छन् । विद्युतको पोलमा टाँगिएका तार, हरेक ठाउँमा खनेको बाटो लगायत कुरा युटिलिटि करिडोर मार्फत गर्न सकिन्छ कि भनेर यसको परामर्श शुरु गरेको मन्त्री झाँक्रीले बताइन् ।
बसाइँसराई डर लाग्दो भएको भन्दै मन्त्री झाँक्रीले यो अवसर पनि भएकोले सहि व्यवस्थपन हुनुपर्ने बताइन्। ‘ पहाडबाट तराई र तराईबाट काठमाडौं बसाइँ सर्नेको लर्को लागिरहेको छ’, उनले भनिन् ।
त्यस्तै सानो सानो बजेटको लागि पनि मन्त्रालय धाउने गरेको बारे पटम पटक असन्तुष्टी व्यक्त गर्दै आएकी मन्त्री झाँक्रीले नगरका वडा र केन्द्रीय सरकारले गर्ने काम एउटै प्रकारका भएको बताइन् ।
‘५ लाखको योजना माग्न केन्द्रमा आउने आवस्यकता हो या धारणा हो ? पत्ता लगाउँ, विकासे मन्त्रालयले बाटो गाउँमा पुर्याएर, मोटर चढेर तराई झरे’, उनले भनिन्, ‘गाउँ गाउँमा स्कुल छन्, मान्छे बसाईं सरको सर्यै छन्। टोल टोलमा विद्यालय छन् मर्जर गर्ने अवस्था आएको छ ।‘