काठमाडौं। निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध कायमै रहेको छ । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइन आयोजनाको निर्माणमा भएको अवरोध अझै नहटेको हो।
प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोशी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् ।
केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्ननदिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । कानूनी व्यवस्था अनुसार प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ ।
प्रसारण लाइनमा पर्ने १०५ ओटा टावरमध्ये सबैको जग हालिएको छ । १०१ ओटा टावर खडा गरिएको छ भने २० किलोमिटर तार टांगिएको छ । गज्र्याङमा १३२र ३३र ११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन तथा सबस्टेसनका अधिकांश उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको छ ।
पूर्वाधार तयार नहुँदा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाट जडित क्षमताको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइनमा जोड्न सकिएको छैन ।
आयोजना व्यवस्थापनले निरन्तर पहल र प्रयास गरेता पनि अवरोध हट्न नसक्दा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेको हो । प्रसारण लाइन अभावमा विद्युत् खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले पहल शुुरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरी अवरोध हटाउन प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुसँग छलफल गरेको छ । कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा विद्युत जोड्न नसक्नु पीडादायी रहेको बताउँदै आगामी असारभित्रमा जसरी पनि आयोजनाको काम सक्नु पर्ने बताए ।