सर्लाहीको मलंगवास्थीत मुसैली पोखरी निर्माणमा कमसल सामग्री प्रयोग गरेर मापदण्डविपरीत काम गरेकोले निर्माणको एक महिना नबित्दै पर्खाल भत्किएको छ। स्थानीयका अनुसार प्रदेश २ सरकारद्वारा सञ्चालित उक्त योजनामा ठेकेदारले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगमा निर्माण गर्दा पर्खाल भत्किएको हो।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गतवर्ष असोजमा १५ महिनामा निर्माणकार्य सम्पन्न गर्ने गरी ६ करोड भन्दा माथीको लगानीमा एमआरआरजे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो। सम्झौताअनुसार काम सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा २० प्रतिशतमात्र काम भएको छ। तोकिएको समयमा योजना पूरा नहँदा पोखरीबाट हुने मासिक दुई लाख आम्दनीसमेत गुमेको छ।
मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय युवाको पहलमा मंलगवा नगरपालिकाको जनता माविको स्वामित्वमा रहेको दशकौं पुरानो उक्त पोखरी १० बिगाहा क्षेत्रफलमा फैलिएको छ।
स्थानीयका अनुसार गुणस्तरहिन सामाग्रीको प्रयोगमा निर्माण सम्पन्न भएको महिना दिन नपुग्दै भत्किएको छ भने घाट निर्माणमा प्रयोग भएको फलामे छडसमेत काम नलाग्ने अवस्थामा पुगेको छ ।उक्त पोखरीमा स्थानीय बासिन्दाले विभिन्न धार्मिक कार्य गर्दै आएका छन्। पोखरी निर्माणमा ठेकेदारको लापरबाहीले हाम्रो आस्थासँंग खेलवाड गरेको स्थानीयले गुनासो गरेका छन्।
जनता मावि विद्यालयको स्वामित्वमा रहेको यस पोखरीबाट विद्यालयले धेरै आम्दानी गर्दै आएको थियो तर अहिले पोखरी सौन्दर्यीकरणको नाममा विद्यालयलाई मासिक दूई लाख आम्दानी समेत रोकिएको छ। माछापालनका निम्ति विद्यालयले एक करोड १७ लाखमा पाँच वर्षका लागि पोखरी ठेक्कामा लगाएको व्यवस्थापन समितिले जनाएको छ।
पोखरीकै आम्दानीबाट विद्यालयको मर्मत सम्भार, शिक्षकको तलब र प्रशासनिक कार्य हुँदै आएकोमा समयमै योजना पूरा नहुँदा विद्यालयलाई करोडौं घाटा भएको र आर्थीक रुपमा धेरै समस्या भोग्नु परेको विद्यालयले जनाएको छ।
ठेकेदारका अनुसार कामको सिलसिलामा केही त्रुटि भएको हो। तर काम गर्ने क्रममा स्थानीयबासीको आन्तरिक विवाद तथा असमझदारीका कारण अनियमित रूपमा काम भएकाले केही ढिलाइ भएको हो।