जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकाकामा निर्माणाधीन लघु जलविद्युत आयोजनाको काम ९५ प्रतिशत पूरा भएको छ। अदली खोलामा निर्माण भइरहेको ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पूरा भएको हो।
निर्माणाधीन आयोजनाको बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीको टोलीले अनुगमन गरेका छन्। आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन्।
उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठूलो र नमुना हो ।’आयोजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पूर्वाधारबाट पछाडी परेको बस्तीमा यो आयोजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए ।
अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलोकन समेत भएको छ ।
गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् ।
त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् ।