काठमाडौं। नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ। बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि यहाँ सडक खाना महोत्सव सुरु भएको हो।
महोत्सवको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गरेका छन्। उद्घाटन गर्दै उनले बन्दीपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिएको बताए। कोभिड सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन प्रभावित भए पनि विस्तारै सङ्क्रमण न्यूनीकरण भएकाले अब यसले गति लिने उनको भनाइ छ।
महोत्सव शुक्रबारसम्म सञ्चालन हुने भएको छ। नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटनका दिन करिब दुई हजार आन्तरिक पर्यटक बन्दीपुर पुगेका छन्। बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन्।
सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनाका साथै ‘दि इन्ट्रो ब्याण्ड’ को प्रस्तुति रहने आयोजकले जनाएको छ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छन्।