काठमाडौं। काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ।खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गरेका थिए।
गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै पानी सुन्दरीजलमा झारिने नले बताए। उनले भने, “एकएक दिन त्यहाँ सफा गरेर पनि दुई सातामा पानी सुन्दरीजल आइपुग्न सक्छ।”
ग्यालथुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर उतैको खोलामा झारिने र सुन्दरीजलमा सफा गरेर पानी बागमतीमा झारिने सूचना अधिकारी पन्तले बताए । उनका अनुसार गत वर्षजस्तै नदीहरुमा पानी झार्दा पानीको बहाव केही बढ्न सक्छ ।
सुरुङभित्र रहेका विभिन्न अडिटहरुबाट सुरुङको सफाइ बर्सेनि गर्नुपर्ने उनले बताए । गत वर्ष नै सञ्चालनमा आइसकेका सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा समस्या छैन ।
सरकारले गत वर्ष फानुनमा नै मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण सुरु गरेको थियो । विसं २०७७ फागुन १० गते मेलम्चीबाट पानी पथान्तरण गरिएकामा फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो। सुरुमा दैनिक १७ करोड लिटरबाट सुरु गरेर दैनिक ५१ करोड लिटर पानी वितरण भइरहेको थियो । असार १ गते मेलम्चीमा आएको बाढीका कारण आयोजनामा पुगेको क्षतिका कारण झण्डै नौ महिनादेखि पानी काठमाडौं ल्याउन सकिएको थिएन।
आयोजनाले पहुँच सडक निर्माण भएसँगै सुरुङमा गेट नं १, ९ र ३८ मा मर्मत गरेको थियो । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाइएको छ र ३८ ले नियन्त्रण गरेको छ । गेट नं ९ बाट पुनः खोलामा पठाइन्छ । गत महिनामा यी तीन गेटमा मर्मत र गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफाइ गरिएको थियो ।
मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइ गरिएको थियो । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएकोमा यो सफा गरिएको हो ।
आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायीरुपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायीरुपमा मानवले गर्नुपर्छ ।
आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।