सर्लाही। सर्लाहीको चन्द्रनगरमा सरकारी बजेटमा बीच सडकमा पक्की भवन निर्माण गरिएको छ । चन्द्रनगर गाउँपालिका– ३ स्थित सडकमा आपत्कालीन सहायता केन्द्रको भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि आर्थिक वर्ष ०७७र७८ मा मात्र ५० लाख रुपैयाँ खर्च गरेको सहरी विकास तथा भवन निर्माण विभाग धनुषाले जनाएको छ । सडकमा दुईवटा भवन निर्माण भएपछि सँधियार जग्गाधनी र स्थानीय तहले पुनरावेदन अदालत जनकपुरमा मुद्दा हालेका छन् ।
आपत्कालीन सहायता केन्द्रको भवन निर्माण भइरहेको स्थान पूरै सडकमा पर्ने जिल्ला मालपोत कार्यालयले जनाएको छ । स्थानीयको व्यक्तिगत जग्गालाई छेकेर सडकमा भवन निर्माण भएको विषय मालपोतसम्म आइपुगेको कार्यालयका प्रमुख एवं सहायक नापी अधिकृत रामकैलाश महतोले बताए । मालपोत कार्यालयको नक्सामा समेत कुनै सार्वजनिक जग्गा नदेखिएको कार्यालयले उल्लेख गरेको छ ।
आपत्कालीन सहायता केन्द्रको भवन संघीय सांसद महेन्द्र राय यादवको पहलमा निर्माण सुरु भएको हो । स्थानीय तहले उपलब्ध गराएको स्थानमा कानुनी प्रक्रिया पुर्याएर भवन निर्माण सुरु भएको सहरी विकास एवं भवन निर्माण डिभिजन धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि यसअघि ५० लाख बजेट विनियोजन भएको थियो । चालू आर्थिक वर्षमा ८० लाख बजेट छुट्याइएको उनको भनाइ छ ।
सडकमा बनेको भवनले आफ्नो नम्बरी जग्गा अतिक्रमण गरेको स्थानीयको गुनासो छ । भवन निर्माणपछि सडकमा जोडिएको आफ्नो जग्गा छेकिएको स्थानीय रामदेव साह कलवारले गुनासो गरे । आफूहरूले यसरी भवन निर्माण नगर्न भन्दा दलका नेताहरूले धम्क्याउने थर्काउने गरेको उनको गुनासो छ । ‘हामीमाथि अन्याय भएको छ,’ उनले भने, ‘हामीले पटक–पटक यसरी सडक अतिक्रमण गरेर आफ्नो जग्गाको अगाडि भवन नबनाउन भन्दा धम्क्याउने तर्साउने गरिरहेका छन् । अदालतमा चलिरहेको मुद्दा फिर्ताका लागि दबाब दिइरहेका छन् ।’ चन्द्रनगर गाउँपालिकासँगै जोडिएको ईश्वरपुर नगरपालिकाको पर्ती जग्गालाई सिमानामा रहेको खोला फर्काएर चन्द्रनगरतर्फ देखाउन खोजिएको स्थानीय रामआधार पण्डितले बताए । उनका अनुसार नम्बरी जग्गासँगै जोडिएको पर्ती जग्गा खोेला अन्तै घुमाएर अतिक्रमण गर्न खोजिएको हो । पण्डितले २१ वर्षदेखि खेती गर्दै आएको जग्गा अर्को गाउँपालिकामा मिसाउन वडाध्यक्षले दबाब दिएको आरोप लगाए ।
ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाको सिमाना भएर बग्ने खोला मोडेर जग्गा अतिक्रमण गरेको आरोप गलत भएको ईश्वरपुर नगरपालिका– ९ वडाध्यक्ष अमिरीलाल साहले बतए । वर्षौँदेखि सो जग्गामा खेती गर्दै आएको रामआधार पण्डित आफैँले खोलाको धार परिवर्तन गरेको उनको दाबी छ ।
गाउँपालिका प्रमुख महतो भन्छन्—नगरपालिकासँग समन्वय नगरी सडकमा भवन बनाइयो
भवन निर्माण सम्बन्धमा पुनरावेदन अदालत जनकपुरमा मुद्दा चलिरहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । नगरसँग समन्वय नै नगरी भवन गलत ठाउँमा निर्माण भएपछि गाउँपालिकाले मुद्दा हालेको उनको भनाइ छ । महतोका अनुसार योजनामा चन्द्रनगर गाउँपालिका– ७ उल्लेख भएको र निर्माण गर्ने वेलामा चन्द्रनगर गाउँपालिका– ३ मा गरिएको छ । ‘योजना एकातिर भवन अर्कोतिर कसरी भयो ? शंका छ,’ उनले भने, ‘वडा नम्बर ३ को सडकमा भवन बनाएछन्, हामीलाई कुनै जानकारी नै दिइएन । उपभोक्ता समितिसमेत वडा नम्बर ७ का वडाध्यक्षको नेतृत्वमा वडा नम्बर ३ का मान्छे राखेर बनाइएको छ ।’ नयाँ पत्रिकाबाट