काठमाडौं। राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलको काम अवरुद्ध भएको छ। उपभोक्ता समूहले आफैंले रुख काट्न पाउनुपर्ने माग राखेपछि विद्युतीय रेलको काम पुन अवरुद्ध भएको हो।
रेल्वे आयोजना कार्यालय र वन उपभोक्ता समूहबीच विवाद बढेपछि रेल्वे ट्रयाकमा पर्ने रुख अहिलेसम्म काटिएका छैनन्। रेल्वे योजना कार्यालय लालबन्दी अन्तर्गतको बागमती–चाँदी खण्डको प्याकेज नम्बर ४ र ५ मा पर्ने रुख कटान गर्न वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद भएको छ।
यस प्याकेजमा दोभान समुदायिक वन उपभोक्ता समूह अन्तर्गत ५ सय ७५ वटा रुख पर्छन्। त्यस्तै रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूहका १ हजार ९७५ रुख काट्नु पर्ने छ। रेल्वे कार्यालयले रुख कटान र व्यवस्थापनमा सहज हुने भन्दै डेढ साता अघि नै नेपाल वन निगम लिमिटेडसँग सम्झौता गरेको थियो। निगमले रुख कटान र व्यवस्थापनको जिम्मा पाएपछि साझेदारी र सामुदायिक वनका पदाधिकारीले विवाद झिकेका हुन्।
वनको कटान आदेश, मुआब्जा विवाद, कोरोना महामारी र विभिन्न माग राख्दै स्थानीयले पटक पटक गर्दै आएको अवरोधका कारण पूर्व पश्चिम रेल आयोजनाको काम नियमित हुन सकेको छैन। विभिन्न समस्या सुल्झाउँदै अघि बढिरहेको रेल्वेको काममा पुन वन समूहको अवरोध आएको छ।
मेची–महाकाली विद्युतीय रेलमार्गको लम्बाइ ९४५ किलोमिटर छ। जसमध्ये रौतहटको बागमतीदेखि बाराको सीमाक्षेत्र धन्सारसम्म २२ किलोमिटर ट्रयाक बनाउने योजना छ। यही खण्डको रुख कटान गर्नुपर्ने छ।
दोभान सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय, रेल्वे र वन समूहका पदाधिकारी बसेर रुख कटान वन समूहलाई दिने मौखिक सहमति भए पनि रेल्वेले सुटुक्क निगमलाई दिएको आरोप लगाएको छ।
रुख कटानमा नै विवाद उत्पन्न भएपछि रेल मार्ग निर्माणको काम रोकिएको छ।