धनुषा। जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहले जनकपुरधामको समग्र विकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
बिहीबार निर्वाचनका लागि जनकपुरधाममा एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले आफू नयाँ जनकपुरधामको निर्माणमा लागि पर्ने बताएका हुन्।
उनले आगामी निर्वाचनमा मेयर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै जनकपुरधामको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।
उनले भने, ‘जनकपुरधामको समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक छ।’
साहले आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।
‘म हावादरी कुरा गर्दिनँ कि जनकपुरधामलाई पाँच वर्षमा स्वर्ग बनाउँछु’, उनले भने, ‘तर, जनकपुरधामवासीको स्मार्ट सिटीको सपना पूरा भएको छैन । त्यसमा म आफ्नो सम्पूर्ण इफोर्ट लगाउनेछु ।’
उनले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहस मेत गरे ।