कञ्चनपुर। पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ। नगरपालिकाले पाँच वर्षको समयअवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यको पहिचानको काम पनि गरेको हो।
पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागन बढाएको नगरपालिकाले जनाएको छ। ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झन्डा राखी उद्यान निर्माण गरिएको बताइएको छ।
नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रिशूलसहित उद्यान निर्माण गरिएको छ। झोलुङ्गे पुलमा सौर्य बत्ती जडान गरिएकाले राति पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको छ। भक्तजनलाई धार्मिक पर्यटकीय क्षेत्रमा सहजपुरले पुग्न बाटो निर्माण गरिएका छन्। रौटेला, विष्णु मन्दिर, भम्कनीधाम, झिलमिललगायत क्षेत्रलाई पाँच वर्षको अवधिमा सडक सञ्जालमा जोडिएको छ। नगरपालिकाका १९ वटै वडालाई जोड्नका लागि शुक्लाफाँटा पर्यटन मार्ग पनि निर्माण गरिएको छ।
उक्त मार्गले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज भएको छ। महाकाली नदीको बहु उपयोगअन्तर्गत महाकाली नदीमा र्याफ्टिङ सफल परीक्षण पछि खल्लाका १५ युवालाई र्याफ्टिङसम्बन्धी तालिम प्रदान गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठुलो बथानका रूपमा रहेको बाह्रसिङ्गालाई चिनाउन प्रचारप्रसारसँगै नगरको ब्रान्ड घोषणा गरिएको छ। महाकाली नदीमाथिको झोलुङ्गे पुल हेर्न पुग्ने पर्यटकको सहायताका लागि नदी किनारमा सजावट तथा भौतिक संरचना निर्माण गरिएको छ।
यसै गरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियानअन्तर्गत (स्मार्ट लाइट) महेन्द्रनगर बजारका मुख्य चोक (पुष्पलाल चोक, बसपार्क, बाह्रसिङ्गा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोक) मा स्मार्टलाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान गर्न सुरु गरिएको छ।
यस क्रममा नगर क्षेत्रभित्रका ८४ वटा मन्दिरमा पूर्वाधारका संरचना निर्माण एवं मर्मत गरिएको नगरपालिकाले जनाएको छ।