धनगढी। वर्खाको समयमा अविरल वर्षाका कारण पहिरोले भासिएको धनगढी–डडेल्धुरा राजमार्ग एक वर्षदेखि मर्मत भएको छैन। गतवर्ष साउनमा सो राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म विभिन्न ठाउँमा सडक भासिएको थियो। एक वर्ष बिते पनि सो सडक मर्मत नहुँदा जोखिम बढेको छ।
उक्त राजमार्गबाट सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा यात्रा गरिरहँदा सवारी दुर्घटनामा पर्ने त्रास बढी रहेको व्यापारीको गुनासो रहेको छ। राजमार्गका तीनभन्दा बढी ठाउँमा एकतर्फी आवागमन बनाइएको छ भने सडक समयमै मर्मत नहुँदा यात्रा गर्न सर्वसाधारणलाई कठिन हुने गरेको छ।
सडक भत्किएका स्थानमा यसवर्ष वर्षाले थप जोखिम निम्त्याएको छ। अहिले गतवर्ष क्षति पुर्याएका ठाउँसँंगै अन्य स्थानमा पनि सडक भासिएका छन्, सडक भासिएको ठाउँमा माटो पुरेर आवागमन सुचारु गरिएको सवारी चालकले बताए।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार कैलालीको गोदावरी नगरपालिका–४ र चुरे गाउँपालिका–३ का विभिन्न स्थानमा रहेका सडकमा भारी वर्षाले क्षति पुर्याएको छ। सडकको मर्मत कार्य हुन नसकेपछि अहिले एक सवारी जान सक्ने गरी माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो। सो सडक खण्डका ठाउँ–ठाउँमा चिरा परेको, खाल्डाखुल्डी भएको भए पनि मर्मतका लागि ध्यान नदिएको वडा अध्यक्षले बताए।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीलाई पहाडी सात जिल्ला जोड्ने मुख्य राजमार्ग मर्मत नहुँदा आवागमन कठिन भएको छ। अहिले पहाडी जिल्लामा जात्रा सुरुवात भएको र दसैं–तिहार नजिकिएकाले सडकमा चाप पनि बढेको छ। सडक मर्मत नहुँदा सबै यात्रु जोखिममा परेका छन् ।
भासिएको र पहिरोले क्षति पुर्याएको सडक छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले बताए। उनले गोदावरीदेखि फल्टुडेसम्मको सडक मर्मतका लागि झण्डै पाँच करोड बराबरको बजेट विनियोजन गरिएको बताए ।