काठमाडौं। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न १५ औँ दरबारमार्ग महोत्सव आयोजना भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना भएको हो।
‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ, रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डको आयोजना भएको महोत्सव आज साँझ ८ बजेसम्म चल्ने छ।
शारीरिकरुपमा भिन्न क्षमता भएका तथा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएका छन्। महोत्सवस्थलमा ६० वटा विभिन्न स्टल छन्। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा विभिन्न स्टल राखिएको छ।
महोत्सवमा सातै प्रदेशका संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृति, गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहेका छन्। विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनका विशेष प्रदर्शन।प्रस्तुतिका स्टल, बालबालिकाका लागि छुट्टै किडस् जोन पनि महोत्सवमा राखिएका छन्। कलाकार दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ ब्याण्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहले साङ्गितिक प्रस्तुति गर्नेछ।