काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले बक्यौता तिर्ने समय अझै थप गर्न माग गरेको छ। दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेपछि खारेज गर्ने भन्दै स्मार्ट टेलिकमलाई १५ दिने स्पष्टिकरण सोधेकोमा जवाफ फर्काउँदै टेलिकमले केही समय थप गर्न माग गरेको हो।
स्मार्ट टेलिकमले विदेशी लगानी भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै केहि समय कुर्न प्राधिकरणलाई आग्रह गरेको छ। सरकारले बाक्यौता तिर्न दिएको सुविधामा पनि स्मार्टले कुनै रकम नबुझाएपछि प्राधिकरणले दोस्रो पटक खारेजीको प्रक्रिया अघि बढाएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरण लाइसेन्स शाखाका एक अधिकारीले स्मार्टले थप समय माग गर्दै कम्पनीमा विदेशी लगानी आउन लागेको जानकारी गराएको बताए ।
स्मार्ट टेलिकममा लगानी गर्न अन्तर्राष्ट्रिय कम्पनी सेटेलिया एसएएसले लगानी गर्ने भएको भन्दै पत्र आएको छ ।
फ्रान्समा आधारित टेलिकम तथा डिजिटल सेवासँग सम्बन्धित कम्पनी सेटेलियाको यूएई स्थित भेन्चरले लगानी गर्ने भन्दै केहिदिन अघि प्राधिकरणलाई पठाएको स्पष्टिकरण पत्र सहित जानकारी गराइको बताइएको छ।
स्मार्टले पठाएको जबाफ र अगामी योजना बारे केहि दिनमा बस्ने प्राधिरणको बोर्ड बैठकले छलफल गरेर निष्कर्षमा पुग्ने छ ।
स्मार्ट टेलिकमले गत असारसम्मकै फ्रिक्वेन्सी दस्तुरको रकम पहिलो किस्तामा करिब ६० करोड रुपैयाँ, दोस्रो किस्ता बापतको करिब ८३ करोड रुपैयाँ, तेस्रो किस्तामा ७७ करोड, चौथो किस्तामा साढे ७१ करोड र पाँचौं किस्ता बापत करिब ६६ करोड रुपैयाँ सरकारलाई बाँकी बक्यौता रकम बुझाउनु पर्ने थियो।
त्यस्तै स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण दस्तुरको आठौं किस्ता रकम छुट्टै १ अर्ब २५ करोड रुपैयाँ सरकारलाई बुझाएको छैन्। हाल स्मार्ट टेलिकमले प्राधिकरण र सरकारलाई लाइसेन्स नविकरण, फ्रिक्वेन्सीलगायतका बिषयमा ६ अर्ब नाघिसकेको प्राधिकरणले जनाएको छ ।