गोरखा। गोरखा जिल्लाको च्यांलीमा साढे ४ करोड लागतमा ‘म्याङ्गो गार्डेन रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ। पालुङटार नगरपालिका–७ नयाँ पुल छेउमा २० रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
स्थानीय राजिवराज पन्त, निसान पाठक, रमेशप्रसाद कँडेल र प्रकाश खनालले रिसोर्ट संचालनमा ल्याएका हुन्। आँपको बगैंचाभित्र खोलिएको रिसोर्ट वरपर ३९ वटा आँपका रुखहरु छन्।
सिजनका बेला रिसोर्टका पाहुनालाई निशुल्क आँप खुवाउने रिसोर्ट सञ्चालकहरुको योजना रहेको छ। राजमार्ग छेउमा शान्त र पारिवारिक वातावरण, धुवाँ धुलो नभएकाले रिसोर्ट ग्राहकको रोजाईमा पर्ने अपेक्षा उनीहरुको छ।
होटलमा १० वटा कोठा छन् । दुईवटा छुट्टै घरसहितको कोठा छ भने आठ वटा रुममा एसी सहितका सुविधा छन् । ग्राहकले आँपको रुखको छहारीमा बसेर हरियाली वातावरणमा विभिन्न परिकार खान पाउँछन् । राजमार्गमा यात्रा गर्ने यात्रु, पर्यटक र विभिन्न तालिम गोष्ठी, सेमिनार गर्नेहरुलाइ लक्षित गरेर उक्त रिसोर्ट संचालनमा ल्याइएको संचालकहरुको भनाइ छ। रिसोर्टभित्र ८० जना अट्ने क्षमताको हल पनि छ । गोष्ठी, सेमिनार, बैठकका लागि हल उपयुक्त छ ।
आसपासका राजमार्गको होटल भन्दा आफ्नो रिसोर्टमा ३० प्रतिशतसम्म कम मूल्य रहेको संचालकहरुको भनाइ छ। दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मका कोठा रिसोर्टमा उपलब्ध छ । रिसोर्टको मुख्य आकर्षक रमाईलो शान्त वातावरण, स्विमङ पुल र लोकल अर्गानिक परिकार हो ।