जुम्ला। कर्णाली प्रदेशको पर्यटकीय रारा राजमार्गको सडक स्तरवृद्धिका लागि डीपीआर अघि बढाइएको छ। २० किलोमिटर सडक स्तरवृद्धिका लागि डीपीआर अघि बढाइएको हो।
राजमार्गको त्रिवेणीदेखि टोप्लासम्म २० किमि सडकको नयाँ ट्रयाक खोल्ने, पुरानो सडकको स्तरवृद्धि गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्नेलगायतका विभिन्न स्तरवृद्धिको काम गर्नका लागि डीपीआर गर्न सुरु गरिएको छ।
सडक विभागको विज्ञ टोलीले जुम्लाको भूगोलअनुसार दिगो विकास र गुणस्तर पूर्वाधारमा जोड दिँदै सडक मापदण्ड कार्यान्वयन हुने गरी डीपीआर गर्नेछन्। सडक विभागको टोलीले २० किमि सडक खण्डको डीपीआर अघि बढाएको छ। चालू आवभित्रै डीपीआर सकिने बताइएको छ। सडकको डीपीआर पश्चात आगामी आवबाट त्रिवेणी–टोप्ला खण्डको २० किमि सडक निर्माण गरिने छ।
डीपीआरअनुसार सडक मापदण्डकै आधारमा त्रिवेणी–टोप्ला खण्डमा डबललेन निर्माण, ९ देखि १० मिटरसम्म चौडाइ, नाला निर्माण, ग्राभेल र कालोपत्रे लगायतका काम गरिने बताइएको छ। थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु–रारासम्म रारा राजमार्गको जम्मा २ सय ६३ किलोमिटर दूरीमध्ये १ सय २६ किलोमिटर सडक हेर्ने क्षेत्राधिकार सडक डिभिजन जुम्लाको छ। जसमा डुसिल्ले लेखदेखि रारासम्म ९८.३ किमि, बुलबुलेदेखि ताल्चासम्म २१.५ किमि र ताल्चादेखि रारातालसम्म ६.२३ किमि गरी जम्मा १ सय २६ किलोमिटर रहेको छ।
१ सय २६ किमिमध्ये त्रिवेणी–टोप्लाको २० किमि सडक निर्माणका लागि डीपीआर अघि बढेको छ। त्रिवेणी हुँदै छिना साँघुसम्म सडकको ट्रयाक खोल्न डीपीआरका लागि माग गरिएको बताइएको छ।