सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले ५ वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको छ। नगरपालिकाले ५ वर्षको अवधिमा आफ्नै बजेटले उल्लेख्य भौतिक प्रगति गरेको हो।
११ वडा रहेको नगरपालिकाले ५ वर्षको अवधिमा आफ्नै बजेटमा ८ वटा मोटेरबल पुल निर्माण गरिसकेको छ । पहिलो आर्थिक वर्षदेखि नै सडक र पुललाई प्राथमिकता दिएको उसले हालसम्म पालिकाभित्रका मुख्य मार्गहरूमा पक्की पुल निर्माण गरिसकेको छ । संघ तथा प्रदेश सरकारबाट सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा रकम विनियोजन गरेर ५ वर्ष नबित्दै ८ वटा पक्की पुल निर्माण गरेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए ।
४ करोड ६६ लाखमा सोलु खोला पुल, ३ करोड ६५ लाखमा चट्याङघाट पुल, १ करोड ४० लाखमा बेनीखोला पुल, १ करोड १६ लाखमा तामा खानी पुल, १ करोड १५ लाखमा सोलनासा पुल निर्माणपछि गाडी चल्न सुरु गरिसकेको छ । त्यस्तै ४३ लाखमा सालाबेसी मोटरेबल बेलिब्रिज, ३५ लाखमा हेवाखोला मोटरेबल बेलिब्रिज र ३५ लाखकै लागतमा दिमिल बेलिब्रिज निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
‘माथिल्लो निकायको मुख ताक्दा केही नभएपछि आफ्नै बनायौं,’ नगरप्रमुख शेर्पाले भने । जनप्रतिनिधिले पद बहाली गरेदेखि अहिलेसम्मको अवधिमा ३ सय ३० किलोमिटर सडकको ट्र्याक खनेको छ । त्यस्तै १ सय किलोमिटर सडक ग्राभेल गरेको छ । सडक निर्माणमा नगरपालिकाले उपभोक्ता समिति पनि गठन गरेन भने ठेक्का पनि लगाएन । विकासको नयाँ शैली अपनाएर पालिका आफैंले यति धेरै सडक खनेको हो ।
नगरपालिकाले सडक खन्नका लागि सुरुमै एक्स्काभेटर, ब्याकुलोडर, रोलर र ट्रिपर खरिद गरेर काम गरेको हो । ‘५ वर्षमा हामीले नगरपालिकाकै डोजर टोलमा पठाएर बाटो ट्र्याक खनेका हौं, डोजरमा तेल हाल्ने र अपरेटर खर्चबाहेक अन्यत्र एक रुपैयाँ पनि खर्च नगरी बाटो खनेका छौं,’ नगरप्रमुख शेर्पाले भने । उनका अनुसार अब नगरपालिकाको कुनै पनि टोल र बस्तीमा बाटो पुग्न बाँकी छैन । अहिले नगरपालिकाले बनाएका ८० प्रतिशत सडक १२ महिना नै चल्ने नगरप्रमुख शेर्पाले बताए । कान्तिपुरबाट