काठमाडौं। बागलुङको निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन्। गत वर्ष गाउँपालिकाको विभिन्न वडामा सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप सात वटा नयाँ झोलुङ्गे पुल निर्माण भइरहेका छन्।
पुल निर्माणले स्थानीयमा खुसीसमेत छाएको छ। गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको छ।
गत वर्ष गाउँपालिका–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।
यस वर्ष निसीखोला गाउँपालिका–४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४ जोड्ने गतेराखोलामा वडा नम्बर २ र ३ जोड्ने खग्रेनीघाटमा, वडा नम्बर एकको आठबारेघाटमा र वडा नम्बर ७ को खनिबासमा नयाँ पुल निर्माण भइरहेका छन्।
पुल निर्माणपछि दैनिकी सहज बन्ने स्थानीयले बताएका छन्। उनले पुल जीर्ण भएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यसको अन्त्य हुने विश्वास गरिएको छ।
पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेको स्थानीयको नाइ छ। निसीखोला–७ का प्रतापजंग थापाले खोला वारपार गर्ने झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब यो समस्याको समाधान हुने छ। पुल निर्माणपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिने जनाइएको छ।
सात वटा पुल निर्माणका लागि झण्डै दुई करोड बजेट लाग्ने छ।केन्द्रीय सरकारको ८७ प्रतिशत र गाउँपालिकाको १३ प्रतिशत बजेट साझेदारीमा पुल निर्माण हुन थालेको बताइएको छ।