काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सभागृहमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो ।
“जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार” नाराका एकीकृत समाजवादीले घाेषणापत्र सार्वजनिक गरेकाे हाे।
स्थानीय विकासका सन्दर्भमा विगतका अनुभव एवं शिक्षा तथा स्थानीय सरकारका माध्यमबाट जनसेवा गर्न सकिने बारेमा पार्टीको प्रतिवद्धता लगायतका विषय समेटेर स्थानीय निर्वाचन घोषणापत्र–२०७९ जारी गरेको उल्लेख छ ।
एकीकृत समाजवादीले प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी मासिक ५ हजार लिटर पानी निशुल्क वितरण गर्ने उल्लेख गरिएको छ । एकीकृत समाजवादीले हरेक पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान बनाउने कार्यक्रम समेत ल्याएको छ ।
भौतिक पूर्वाधारका क्षेत्रमा एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेखित विषयहरु:
–प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली
एकीकृत समाजवादीले प्रत्येक घरमा २०० युनिटसम्म विद्युत निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। घोषणापत्रमा भनिएको छ, ‘स्थानीय सरकारमार्फत् हरेक घरपरिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ ।’ विद्युत सेवा नपुगेका स्थानमा सेवा उपलब्ध गराउने समेत प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ।
–निःशुल्क खानेपानी
एकीकृत समाजवादी पाटीले आफ्नो घोषणापत्रमा मासिक ५ हजार लिटर पानी निशुल्क उपलब्ध गराउने उल्लेख गरेको छ। खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा समेत अनिवार्य पुर्याउने प्रतिबद्धता जनाइएको छ।
घोषणापत्रमा भनिएको छ, ‘हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने छ । ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ खाानेपानी र सरसफाइजस्तो जनताको आधारभूत आवश्यकता पूरा गरिने छ।’
–संरक्षित कृषिबजार
एकीकृत समाजवादीेले हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र कृषिउत्पादन बढाउने र कृषिउत्पादन विक्री हुने सुनिश्चितताका लागि व्यवस्थित योजना बनाई लागु गर्ने जनाएको छ। किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन कृषिउत्पादन संरक्षणका लागि हरेक पालिकामा आवश्यकताअनुसार शीत भण्डार (कोल्ड स्टोर), दुध चिस्याउने केन्द्र तथा कृषिउपज सङ्कलन केन्द्रको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।
–उद्यमशीलता विकासका लागि विशेष योजना
एकीकृत समाजवादी पाटीले हरेक पालिकाभित्रका युवाहरूलाई स्वरोजगार बन्ने वातावरण उपलब्ध गराउन उद्यमशीलता विकासका लागि प्रभावकारी योजना अगाडि सार्ने घोषणापत्रमा उल्लेख गरेको छ।
–पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान
घोषणापत्रमा पालिकास्तरमा युवा विभाग बनाइ उक्त विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने उल्लेख छ।
घोषणापत्रमा भनिएको छ, ‘हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने छ ।’ हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरिने एकीकृत समाजवादीको प्रतिबद्धता छ।
–हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय
एकीकृत समाजवादीको घोषणापत्रमा हरेक पालिकामा आवश्यक उपकरणहरू तथा सुविधा सहितको ‘इ लाइबे्रेरी’ को स्थापना र सञ्चालन गरिने बताइएको छ। घोषणापात्रमा भनिएको छ, ‘चेतनाको विकास नै भौतिक विकासको मूल माध्यम हो भन्ने मूल्य, मान्यता स्थापित गर्नका लागि हाम्रा हरेक पालिकामा देश–विदेशका ख्यातिप्राप्त लेखकहरूका पुस्तक र पत्रपत्रिका उपलब्ध हुने पुस्तकालय स्थापना गरिने छ ।’
–फोहर बन्ने छ मोहर : सफा गाउँसहर
एकीकृत समाजवादीले फोहोर व्यवस्थापनका विषयमा भनेको छ, ‘हरेक घरपरिवारलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न लगाउने र फोहोर सङ्कलन गर्ने गाडीहरूले सोहीअनुसार ढुवानी गरी निश्चित स्थानमा भण्डारण गर्ने व्यवस्था गरिने छ । कुहिने फोहोरलाई खाल्डोमा जम्मा गरेका भरमा, अति सामान्य प्रविधिबाट मल बनाउन सकिन्छ । यस्तो मल न्यूनतम मूल्यमा किसानहरूलाई उपलब्ध गराइने छ ।’ समाजवादीले सम्भाव्यताका आधारमा फोहरबाट वायोग्यास निकाल्ने प्लान्ट स्थापना गर्ने प्रतिबद्धता समेत जनाएको छ।
–सडक सञ्जाल : विकास निर्माणको पूर्वाधार
एकीकृत समाजवादीले सडक र यातायातका लागि गुरु योजना बनाएर लागू गर्ने जनाएको छ। पालिकाको योजनाविना जथाभावी सडक बनाई कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहित गर्ने एकीकृत समाजवादी पाटीको प्रतिबद्धता छ।
– दिगो विकासका लागि एकीकृत र समन्वयात्मक योजना
एकीकृत समाजवादीले स्थानीय तहका टुक्रे योजनामा सङ्घीय र प्रादेशिक सरकारले बजेट पठाउने प्रचलनलाई कडाइपूर्वक रोक्ने जनाएको छ। स्थानीय स्तरमा गरिने हरेक विकास निर्माणका योजना स्थानीय स्तरकै गुरु योजनाअनुसार मात्रै हुनुपर्दछ भन्ने विषयमा आफूहरु स्पष्ट रहेको घोषणापत्रमा उल्लेख गरिएको छ।
योसँगै भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा एकीकृत समाजवादी पाटीले अन्य विभिन्न विषय पनि आफ्नो घोषणापत्रमा समावेश गरेको छ। बालबालिकाको मानसिक तथा शारिरीक विकासका लागि हरेक टोलमा बालउद्यान निर्माण गर्ने बताइएको छ। ज्येष्ठ नागरिकहरुका लागि हरेक पालिकाहरूले विविध सुविधासहितका क्लबहरू निर्माण गर्ने बताइएको छ। एकीकृत समाजवादी पाटीले अपांगता भएका व्यक्तिहरुका लागि ‘अपाङ्क मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्क मैत्री संरचना, खासगरी अपाङ्क मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्क मैत्री शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी विकास निर्माणका ठेक्का–पट्टामा इबिडिङबाट टेन्डर भर्ने प्रणाली व्यवस्थित गर्ने समेत एकीकृत समाजवादीले जनाएको छ।