खोटाङ। ऐसेलुखर्क गाउँपालिकाको लिदिङ खोला पुल अलपत्र परेको छ । उक्त पालिकाको वडा नं १ राखावाङ्देल र वडा नं ३ ऐसेलुखर्कको बीचमा पर्ने पुलको ठेक्का पुष्पाञ्जली जिम्बा जेभीले लिएको हो ।
निर्माणको सुरुवाती चरणमै गुणस्तरहीन भएको गुनासो आएको र परीक्षण गर्दा समेत गुणस्तरहीन पुष्टि भएपछि अलपत्र परेको हो ।
उक्त निर्माणाधीन पुलको जगमै गुणस्तरहीन भएको परीक्षण रिपोर्ट आएपछि समस्या आएको वडा नं ३ का वडाअध्यक्ष राजेश राजभण्डारीले बताए । ‘सुरुमै परीक्षण गर्दा रिपोर्ट फेल आयो, त्यसपछि काम रोकिएको हो’ राजभण्डारीले भने । तीन करोड २० लाख १८ हजार रुपैयाँको लागतमा २०७९ भदौ २८ गतेभित्र सक्नेगरी २०७७ फागुन २८ गते सम्झौता भएको थियो ।
उक्त पुलमा प्राविधिकले सम्झौता अनुसार काम नभएको, गुणस्तरहीन सामान प्रयोग गरिएको भन्ने जनाएपछि परीक्षण गर्न पठाउँदा रिपोर्ट फेल आएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । परीक्षणका लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा पठाइएको थियो । केन्द्रले २०७८ मंसिर २ गते परीक्षणको रिपोर्ट पठाएको थियो । ‘प्राविधिकले नै सम्झौता अनुसारको काम नभएको, गुणस्तरहीन सामान प्रयोग गरेको भनेर सिफारिस गरेपछि परीक्षणमा पठाइएको थियो’ निरौलाले भने–‘परीक्षण रिपोर्ट पनि फेल आएकाले काम रोकिएको थियो ।’
पाँच महिनाअघि गुणस्तरहीन पुष्टि भएको कामको रिपोर्ट फेरि सच्याइएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले गुणस्तरहीन भएको भन्दै पुष्टि गरेको कामलाई अर्को कम्पनीले सच्याएपछि त्यही रिपोर्ट गाउँपालिकामा पेश गरिएको छ । गाउँपालिकामा चैत २७ गते सच्याइएको रिपोर्ट पेश गरिएको हो । दोस्रो पटकको परीक्षण विश्व कन्सर्ट प्रालि डिल्लीबजारले गरेको हो ।
पछिल्लो पटक निर्माण कम्पनी आफैले खोजेको परीक्षण केन्द्रबाट पास भएको रिपोर्ट आएकाले सेटिङमा मिलाइएको आशंका गरिएको छ ।
सुरुमा ढलान गर्ने मसला (कङ्क्रिट क्युटेष्ट)को परीक्षण फेल भएपछि निर्माण कम्पनीले कोरकटिङ टेष्ट (ढलान गरेको ठाउँको सामग्री काटेर परीक्षण) गर्न अनुरोध गरेको थियो । त्यसपछि दोस्रो पटक परीक्षणमा पठाइएको गाउँपालिकाका इन्जिनियर किसन अधिकारीले बताए । उक्त परीक्षणमा पास भएको रिजल्ट आएको हो । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले भने यसबारे बुझ्न बाँकी रहेको बताइन् । निर्माण कम्पनी सम्बद्ध उमेश पौडेलले भने फिल्डमै आएर मेजरमेन्ट गरेपछि पास भएको दाबी गरे । कान्तिपुरबाट