बझाङ। निर्माणको काम छिटो सम्पन्न नगरे बझाङमा पुनः यातायात अवरुद्ध हुने संकेत देखिएको छ। बाढीले बगाएको जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिकामा पर्ने जालेबगर खण्ड पुनर्निर्माणमा ढिलासुस्ती हुँदा जिल्ला नै यातायातविहीन हुने खतरा बढेको हो।
बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर जिल्लामा यातायात सम्पर्क विच्छेद भएको थियो। जाले बगर खण्डमा सेती नदीको बाढीले करिब चार सय मिटर सडक पूर्णरुपमा बगाएको थियो। सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिका यातायात सम्पर्कबाट विच्छेद भएका थिए।
कात्तिक अन्तिमतिर सेती नदीको धार फर्काएर अस्थायी रुपमा सडक सञ्चालन गरिएको थियो। वैशाखभित्रै स्थायी सडकको काम सम्पन्न गर्न नसकेको खण्डमा आउने असोजसम्मै बझाङ जिल्ला यातायातविहीन हुने खतरा देखिएको छ। सेतीमा बाढी आउन थालिसकेको स्थानीयको भनाइ छ। गत कात्तिकमा यही सडक बगाएपछि बझाङको यातायात सेवा महिनादिनसम्म ठप्प भएको थियो। यातायात अवरुद्ध हुँदा यहाँ औषधि, खाद्यान्न, ग्याँस, तेलजस्ता अत्यावश्यक सामग्रीको अभाव र अस्वभाविक मूल्यवृद्धि भएको थियो।
५ करोड ५० लाख रुपैयाँ लागतमा वैशाख मसान्तभित्रै सडकको पुनर्निर्माण सम्पन्न गर्ने गरी ड्रागन, जगदम्बा, सुर्मासरोवर जेभीसँग गत पुसमा ठेक्का सम्झौता भएको थियो। सडक खण्डको ८० मिटर भाग कडा चट्टानी रहेको र उक्त खण्डमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको छ।
ठेक्का सम्झौताअनुसारका आरसीसी पर्खाल, ग्याबिन जाली भर्ने काम र प्लम्बरको कामलगायत संरचना निर्माणको काम समयमै सम्पन्न हुने भए पनि विस्फोटक पदार्थ उपलब्ध नहुँदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण व्यवसायीको भनाइ छ।