काठमाडौं। बुढीगण्डकी परियोजना चीनबाट खोसेर नेपाल आफैँले निर्माण गर्ने विषयमा चीनले असन्तुष्टि जनाएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग बिहीबार बिहान भएको भर्चुअल प्रेस ब्रिफिङमा बुढीगण्डकी परियोजनालाई लक्षित गर्दै सरकारसँगै नीतिगत परिवर्तन हुनु विकासका लागि राम्रो नभएको बताएकी हुन्।
उनले बुढीगण्डकी परियोजनालाई लक्षित गर्दै भनिन्, ‘लोकतान्त्रिक मुलुकमा सरकार परिवर्तन सामान्य हो र यो नेपालको आन्तरिक मामिला हो। तर, ठूला परियोजनाहरूका सन्दर्भमा सरकार परिवर्तन भएसँगै नीतिगत परिवर्तन हुनु विकासका लागि राम्रो होइन।’
राजदूत होउले नेपालमा चिनियाँ लगानीकर्ता तथा ठेकेदारहरले समस्या व्यहोरिरहेको भन्दै व्यावहारिक समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्।
नेपालले चिनियाँ सहायतामा आधारित परियोजनाका लागि परियोजना प्रस्ताव र डिपिआर नपठाएको भन्दै उनले असन्तुष्टि जनाइन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा घोषणा भएको अनुदान र त्यसभन्दा अघिदेखि घोषणा भएका अनुदानमा पनि नेपालले परियोजना नपठाएको उनको गुनासो छ।
उनले भनिन्, ‘नेपालले परियोजना र डिपिआर पठाएपछि हाम्रो प्राविधिक टिमले नेपालमा आएर अध्ययन गर्छ र त्यसपछि आवश्यक निर्णय गर्छ। नेपालले नै पहिला परियोजना प्रस्ताव गर्नुपर्छ। हामी प्रतीक्षामा छौँ।’
अर्को सन्दर्भमा चिनियाँ राजदूत होउले काठमाडौं–केरुङ सीमापार रल्वेको सम्भाव्यता अध्ययन सुरु गर्न अझै ६ वर्ष लाग्ने बताइन्। ‘मलाई प्राविधिकहरूले भनेका छन् कि काम खुरुखुरु भयो भने रेल्वेको सम्भाव्यता अध्ययनका लागि ६ वर्ष लाग्छ। रेल्वे निर्माण कहिले सम्पन्न हुन्छ भन्ने कुरा म जस्तो कूटनीतिक मानिसले भन्न सक्ने कुरा भएन, सम्भाव्यता अध्ययनपछि मात्रै थाहा हुन्छ,’ राजदूत होउले भनिन्।