काठमाण्डौं। नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ। पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम सर्लाहीको मलङ्गवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किलोमिटर सडकमा कालोपत्र सकिएको हो।
हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकमध्ये हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ। बाँकी ८० किलोमिटर सडकमा पनि तीव्र रूपमा काम भइरहेको जनाएको छ।
यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने बताइएको छ। सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम तीव्र रूपमा भइरहेको जनाएको छ।
दुई लेनको उक्त सडक सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेकदार कम्पनीले जनाएको छ। धनुषा र सिरहा खण्डमा निर्माणको कामले गति लिए पनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम सुरु भएको छ।
सर्लाहीको शीतलपुर–मलङ्गवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आए पनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो। करिब ४२ किलोमिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलोमिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भइरहेको बताइएको छ।
पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटो जसलाई पदम शम्शेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ।