काठमाडौं। नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को साउनदेखि चैतसम्मको तथ्यांक अनुसार नेपालले १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्यांक अनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा एक खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँ बढीको पेट्रोलको आयात भएको हो ।
यस्तै, ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।
४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३८ अर्ब, ५३ करोड ५१ लाख ५५ हजार रुपैयाँ बराबरको स्टीलका सामग्री, ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको टेलिफोनका उपकरण, ३२ अर्ब ४ करोड ७८ लाख ५७ हजार रुपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख ४२ हजार रुपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सन आयात भएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नौ महिनाको अवधिमा साढे १४ खर्ब बढीले विदेशी वस्तुको आयात भएको छ ।
नौ महिनाको अवधिमा नेपालमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । गत वर्षका तुलनामा चालु आवमा ३१।९७ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
चालु आवको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ ।