चितवन। भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा उल्लेख्य काम गर्न सकेको दाबी गरेका छन्। कार्यकालको अन्त्यमा समीक्षा पुस्तक प्रकाशन गर्दै जनप्रतिनिधिले पाँच वर्षे अवधिमा भरतपुरको विकासले ठूलो फड्को मारेको दाबी गरे।
महानगरकी मेयर रेनु दाहालले आर्थिक वर्ष २०७४र०७५ को अन्त्यतिर सुरू भएको जनताको सेवा र विकास निर्माणको यात्रा २०७८र०७९ को अन्त्यतिर पुग्दा पनि निरन्तर अगाडि बढिरहेको बताइन्।
उनले महानगरको सीमित आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदानकोे अधिकतम उपयोग गर्दै भौतिक पूर्वाधार र मानवीय विकासबीच सन्तुलन कायम गर्दै विकास निर्माणका दीर्घकालीन र अल्पकालीन महत्वका योजना तर्जुमा र कार्यान्वयन भएको बताइन्।
यस अवधिमा भरतपुरलाई स्मार्ट मेगा सिटीको रूपमा विकास गर्न महानगरीय रिङ रोड, लिंक रोड, पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तार, अत्याधुनिक सिटी हल निर्माण, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, ल्याण्डफिल साइट, मेट्रो प्लाजा, महानगरको प्रशासकीय भवन निर्माणलगायतका धेरै काम अघि बढिरहेको बताइन्।
‘यस्ता दर्जनौं योजना अहिले निर्माणको चरणमा छन्, भरतपुरका अधिकांश सडक अहिले कालोपत्रे भएका छन्,’ दाहालले भनिन्, ‘भरतपुर आउने जो कसैले पनि पाँच वर्षको अवधिमा यहाँको भौतिक पूर्वाधार निर्माणमा उल्लेख प्रगति भएको देख्न सक्नेछन्।’
उनले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखेर कानुनी आधार तयार पारिएको बताइन्।
उपमेयर पार्वती शाह ठकुरीले न्यायमा नागरिकको पहुँच हुनेगरी नगरबासीमा कानुनी शासनको प्रत्याभूति दिलाउन सक्दो प्रयास गरेको बताइन्।
महानगरका प्रवक्ता रहेका वडा नम्बर १० का वडाध्यक्ष अरुण पीडित भण्डारीले कमजोर अवस्थामा रहेका भरतपुरका सडक जनप्रतिनिधि आएपछि सुधार भएको बताए।
उनले महानगरभित्र जनप्रतिनिधि आएपछि नयाँ र मर्मत गरिएको गरेर १ हजार १ सय ५ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे।
४ सय ५९ किलोमिटर सडक ग्राभेल भएको र २५ किलोमिटर सडकमा मोज्याक टायल बिच्छाउने र ढलान गर्ने काम गरिएको बताए।
उनले १ सय ६ विघा सार्वजनिक जमिन संरक्षण गरिएको दाबी गरे। साथै भूमिहीनलाई लालपुर्जा र जग्गाको निस्सा वितरण गर्न थालिएको बताए।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सुरूआतमा वार्षिक ४० करोड रुपैयाँमात्रै रहेको आन्तरिक आय बढाएर अहिले वर्षिक एक अर्ब ५ करोड पुगेको बताए।
उनले महानगरका २९ मध्ये १३ वटा वडाका नयाँ भवन निर्माण भएको र १४ वटाको मर्मत गरिएको बताए। एक वडा एक स्वास्थ्य कार्यालय कार्यक्रम कार्यान्वयनगरी प्रत्येक वडाका बासिन्दाको प्राथमिक तहको उपचार सेवा सम्बन्धित वडाबाटै दिने व्यवस्था मिलाइएको उनले बताए।
सुवेदीले महानगरमा आयुर्वेद कार्यालय र स्वास्थ्य प्रयोगशाला स्थापना भएको र ४ लाख भन्दा बढी डोज कोभिड–१९ विरूद्धको खोपको व्यवस्थापन गरिएको बताए।
समीक्षा पुस्तकमा महानगरले पाँच वर्षमा विद्यालयहरूमा विद्यार्थीको संख्या ६ हजारले वृद्धि भएको पशुपालक किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइएको, चितवनलाई कृषि र पशुपंक्षी क्षेत्रमा आत्मनिर्भर क्षेत्र बनाउन सहयोगका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेको छ।
भरतपुर अस्पतालमा महिला, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निस्शुल्क ओपिडी टिकटको व्यवस्था मिलाइएको, सुविधासम्पन्न कुरुवा घर निर्माण भएको, महानगरका पर्यटकीय गन्तव्यहरूको पहिचानगरी प्रचार प्रसार गरिएको समीक्षा पुस्तकमा उल्लेख छ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै मेयर दाहालले पाँच वर्षमा महानगरभित्र १६ वटा गौरवका आयोजना अघि बढिरहेको भन्दै ती आयोजना सम्पन्न गर्न फेरि एक कार्यकाल मेयर बनेर काम गर्ने इच्छा रहेको बताइन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन उनले पदबाट राजीनामा दिएकी छन्। सेतोपाटीबाट