काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिने भएको छ। आज बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका धाराहरुमा मेलम्चीको पानी वितरण गरिने भएको हो।
गत वैशाख ५ गते राती सुन्दरीजल आइपुगेको पानी शुक्रबार पोखरी भरिएपछि आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार शनिबारसम्म पानी वितरण गर्दा आउने समस्या समधान गर्न सुन्दरीजलमा (ट्रिटमेन्ट) परीक्षण गरिएको छ। शनिबारसम्म ट्रिटमेन्ट परीक्षण सकेर आज बिहानै सर्वसाधारणको धारामा पानी पठाइने आयोजनाले जनाएको छ।
नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तिलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर र नरेफाँटलगायतका स्थान छन । हाल ३ करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट वितरण गरिने भएको छ ।
निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । ७७ किलोमिटर लम्बाइको बल्ब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको हो ।