काठमाडौं। बझाङको केदारस्युँ गाउँपालिकामा स्थानीयको आवश्यकता विपरित खोप केन्द्र भवन निर्माण गरिएको पाइएको छ। गाउँपालिकाको वडा नम्बर ३ हसाडामा स्थानीयको आवश्यकता नहेरि खोप केन्द्र भवन निर्माण गरेको पाइएको हो।
अहिले सरकारले खोप अभियान सञ्चालन गर्न स्थानीयको पायक पर्ने सार्वजनिक स्थल विद्यालय, चौतारा वा स्वास्थ्य स्वयंमसेवीकाको घरलाई आधार बनाउने भनेको छ तर केदारस्युँ गाउँपालिकाले खोप सञ्चालनका लागि भन्दै गाउँपालिकाका दुई वटा वडा ३ र ६ मा खोप केन्द्र भवन निर्माण गरेको छ।
केदारस्युँ गाउँपालिका वडा नम्बर ३ हसाडामा बनेको खोप केन्द्र भवन २०७६ सालमा गाउँपालिकाको ३ लाख लागतमा सम्पन्न भएको थियो। २ वर्ष अगाडि बनेको उक्त भवनमा हालसम्म एक पटक मात्रै खोप अभियान सञ्चालन भएको थियो।
लामो समय खोप केन्द्र प्रयोगबिहीन बनेपछि अहिले स्थानीयले खर राख्ने गोठ बनाएका छन्। खोप केन्द्रको भवनबाहेक त्यहाँ कुनै संरचना र सामाग्री छैन। न त भवन पायक पर्ने ठाउँमा नै छ।
भवन बने पनि प्रयोग नआएको स्वयं वडाध्यक्ष वीरबहादुर खाती स्वीकार गर्छन्। उनले भने, ‘त्यो भवन दुई वर्ष पहिले गाउँपालिकाको ३ लाख लगानीमा बनेको हो। खोप सञ्चालनका लागि भनेर भवन बनाएका हौं। त्यो बनेपछि एकचोटी त खोप सञ्चालन भयो जस्तो लाग्छ। पछि प्रयोगमा नआएपछि स्थानीय जग्गादाता धनी खातीले खर राख्ने बनाएछन्।’ स्थानीय सरकारलाई जनताको आवश्यकताका आधारमा विकास गर्न अधिकार छ तर यो विना आवश्यकताको भवन निर्माण गरेर कार्यकर्तालाई रकम बाँड्ने सजिलो उपाय बनाएको स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुख भानुभक्त जोशी बताउँछन्। उनले खोप केन्द्र अहिलेको आवश्यकता नै नभएको जिकिर गरे।
उनले भने, ‘अहिले गाउँगाउँ स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र छन्। खोप अभियान पायक पर्ने ठाउँमा सञ्चालन हुन्छन्। ती भवनहरु किन बनाए होलान्, यो सिधै कार्यकर्ता खुशी पारेर रकम सिध्याउने उपाय हो। खोप केन्द्रको कुनै औचित्य छैन।’
खोप केन्द्र नजिकै रहेको केदार आधारभूत विद्यालयका शिक्षक लालबहादुर खत्रीले पनि भवन कहिल्यै प्रयोगमा नआएको हुँदा स्थानीयले खर राखेको हुनसक्ने बताए।
३ नम्बर वडा कार्यालय सहयोगी मंगल खातीले महिनाको एक चोटी खोप लगाउने गरेको भन्दै स्थानीय सरकारको बचाउ गरे। तर स्थानीयले भने उक्त भवन प्रयोगमा नआएको बताएका छन्।
अन्नपूर्णबाट