काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मानव निर्मित कमजोर संरचनाका कारण देशले क्षति भोग्नु परेको बताएकी छन्। राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा भूकम्पीय जोखिमका कारणमध्ये मानव निर्मित कमजोर भौतिक संरचना पनि एक भएको बताएकी हुन्।
सन्देशमा उल्लेख गरिएको छ, ‘नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरुमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवम् विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताएकी छन् ।
सन्देशमा भनिएको छ,“नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवम् ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक र पुललगायत भौतिक संरचनाहरुको पुनर्निमाण कार्य लगभग सम्पन्न गरिसकेको छ ।”
बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरुलाई हस्तान्तरण भइसरकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्प पश्चातको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरुमा सहयोग गर्ने मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु र स्वयंसेवकहरु सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेकी छन् ।