काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले निर्माणाधीन आयोजना टुङ्ग्याउने गरी बजेट राख्नु पर्ने धारणा राखेका छन्। अर्थमन्त्रालयले सोमबार तीन मन्त्रालयहरुसँग गरेको बजेट छलफलमा अर्थमन्त्री शर्माले केन्द्र, प्रदेश र स्थानीय तहले कस्ता सडक आयोजना निर्माण गर्ने भन्ने विषयमा यकिन गरी बजेट बनाउनुपर्नेमा जोड दिएका हुन्।
बजेटको धेरै हिस्सा ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित तीन मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले भने, ‘निर्माणधीन पुल, सडकलाई टुङ्ग्याउने गरी यसपाली बजेट राखौं, सबै केन्द्रले पनि बनाउने होइन छोटो पुलहरु प्रदेशलाई बनाउन दिएपनि हुन्छ।’
उनले ट्रयाक खोलेका र नयाँ बनाएका सडक मर्मतको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताए। मन्त्रालयले सोमबारनै बजेट निर्माणका विषयमा वन तथा वातावरण मन्त्रालयसँग पनि छलफल गरेको छ। दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ । वन मन्त्रालयको छलफलमा मन्त्री शर्माले भने ‘हामीले दाँत कोट्याउने सिन्का विदेशबाट आइरहेको छ। अनि हाम्रा वनका रुख र काठहरु कुहिएर खेर गइरहेका छन्। अबका दिनमा यस्ता नीति सच्चिने गरी अगाडी बढ्नु जरुरी छ।’
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि छलफल गरेको छ। उद्योग मन्त्रालयले नीति–कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयहरुको प्रस्तूतीकरण दिएको छ ।
प्रस्तावित कार्यक्रमबाट २५ हजार ४ सयलाई रोजगारी सिर्जना हुने, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, भएका औद्योगिक क्षेत्रलाई मर्मत सम्भार गर्ने, पेट्रोलियम पाइपलाइन बिस्तार गर्नेलगायतका प्रस्ताव गरिएको छ ।