काठमाडौं। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन्। प्राथामितामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसकेको हो।
काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि सुरु भएर ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजङ्घा गाउँपालिका हुँदै कञ्चनजङ्घा आधार शिविरसम्म जोड्ने सडक योजना हो। कञ्चनजङ्घा हिलालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर कञ्चनजङ्घा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्ष गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो।
अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लिम्बुनी पुलदेखि काबेलीबजार नजिकसम्म करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ। त्यस्तै ताप्लेजुङतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे र वडा ६ थुम्बेदिन पुछारसम्म करिब तीन किलोमिटर ट्र्याक निर्माण गरिएको छ। प्रथामितामा नपरेसँगै बजेट अभावका कारण पाँचथरतर्फ काबेली बजारदेखि भालुचोक पुछारसम्मको खण्ड अमरपुर र चाक्सिबोटे जोड्ने काबेली खोलामा निर्माण हुने पुलसम्म अझै ट्र्याक निर्माण हुनसकेको छैन। बजेट अभावसँगै उक्त खण्डमा पर्ने थोरै वन क्षेत्रका कारण अवरोध गरिएकाले पनि ट्र्याक निर्माणमा ढिलाइ भएको छ।
एक प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजङ्घा जोड्ने र धेरै क्षेत्रलाई सडक पहुँचमार्फत समेट्ने छोटो दूरीको काबेली करिडोर सडक योजना भए पनि बजेट विनियोजन नहुँदा ओझेलमा परेकोे उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ।
चालु आर्थिक वर्षमा विनियोजित थोरै बजेट कार्यान्वयनको प्रक्रियामा रहेको उक्त आयोजनाले जनाएको छ। उक्त करिडोर निर्माणका लागि आम्बेगुदिन–तेल्लोक खण्डमा ट्र्याक निर्माण गर्नेगरी सेवालुङ–पोमु जेभी कम्पनीसँग रु एक करोड १२ लाखमा सम्झौता भएको थियो। उक्त बजेटले करिव पाँच किलोमिटरसम्म ट्र्याक निर्माण गर्न सकिन्छ।
करिडोर पूरा भए जिल्लाको पूर्वी क्षेत्रका सिदिङ्वा, सिरिजङ्घा र पाथीभरा याङ्वरक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।