काठमाडौं। पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको हो।
आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुरुप पार्क र सङ्ग्रहालय निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
इन्द्रेणी पार्कमा हालसम्म सङ्ग्रहालय भवन, प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरुमलगायतका भौतिक संरचना निर्माण सम्पन्न भएका छन्। पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ भने शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ पनि तयार भइसकेको छ।
पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्डखण्डमा विभिन्न प्रजातिका सुन्दर फूल तथा बाह्रैमास हरियो रहने दुबो पनि सारिएको छ। फूल तथा दुबोलाई हरियाली बनाइ राख्न नियमित रुपमा पानीको ब्यवस्था गरिएको छ। त्यसका लागि बाबियाचौरका स्थानीयवासीले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ।
पार्क निर्माणका लागि हालसम्म रु एक करोड ८ लाख ६७ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ। पार्क निमार्णमा गाउँपालिकाले आर्थिक वर्ष २०७५।०७६ मा रु २५ लाख, २०७६/०७७ मा रु २५ लाख र २०७७/७८ मा रु २१ लाख १२ हजार विनियोजन गरेको छ।
उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीले श्रमदानसमेत गरेका छन्। त्यस्तै पार्कभित्रै दुईतले दुई हल भएको मङ्गला सङ्ग्रहालय भवन निर्माण गरिएको छ। दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको रु ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कूल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
सङ्ग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरातात्विक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका सीप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्री सङ्कलन गरेर राखिनेछ। त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ।
मङ्गला गाउँपालिका–२ बाबियाचौर निवासी इन्द्रबहादुर अधिकारी र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलब्ध गराएको हो। म्याग्दी नदीको किनारमा रहेको चार रोपनी जग्गा इन्द्रबहादुरले गाउँपालिकालाई निस्शुल्क रुपमा प्रदान गरेका हुन् भने पाँच आना जग्गा सम्मरबहादुरले पालिकाबाट रु तीन लाख मात्रै लिएर सहयोगस्वरुप प्रदान गरेका थिए।