काठमाडौं। अनुमतिभन्दा बढी चुनढुंगा खानी दोहनको अभियोगमा मुद्दा खेपेका दुई सिमेन्ट उद्यमी धरौटीमा छुटेका छन्। सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने र सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका उपस्थित हुने निवेदन लिएर विशेष अदालतमा उपस्थित भएकोमा दुवै जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।
विशेष अदालतका इजलास अधिकृत बालकृष्ण लवजुका अनुसार न्यौपानेलाई २५ लाख र उनको कम्पनी सर्वोत्तम सिमेन्टलाई २५ लाख गरी ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको थियो । मुरारका र उनको कम्पनीलाई ५०–५० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको लवजुले बताए । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश गरेको हो । न्यौपाने सर्वोत्तम सिमेन्टका सञ्चालक र मुरारका सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थ मिनरल्सलाई ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ र सर्वोत्तम सिमेन्ट र सञ्चालक न्यौपानेलाई १६ करोड ३१ लाख ८१ हजार रुपैयाँभन्दा बढी र बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । बिगो फरक भए पनि धरौटी भने बराबर माग भएको छ ।
न्यौपाने र मुरारकासहित नौ चुनढुंगा कम्पनीले खानी तथा भूगर्भ विभागबाट माइनिङ स्किममा तोकिएभन्दा बढी चुनढुंगा उत्खनन गरेको, उक्त कार्य रोक्न विभागबाट पटक–पटक भएको पत्राचार बेवास्ता गरेको अभियोग लगाइएको छ । अभियोगपत्रमा यी कम्पनीले अवैज्ञानिक ढंगले चुनढुंगा उत्खनन गर्नुका साथै वातावरणीय संरक्षणलाई समेत ध्यान नदिएको दाबी छ ।
यसअघि, आइतबार पनि युनाइटेड सिमेन्ट्स र सञ्चालक नरेश दुगड विशेषमा उपस्थित भएका थिए । कम्पनी र सञ्चालक दुवैलाई २०–२० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको थियो । दुगडविरुद्ध नौ करोड ६९ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । साथै, मारुती सिमेन्टलाई पनि ५० लाख धरौटी लिई रिहा गरिसकिएको छ ।
उक्त कम्पनीमाथि साढे २० करोडको बिगो मागदाबी थियो । सो मुद्दामा सिमेन्ट उद्योग र तिनका सञ्चालकसहित नौजना र नौ सरकारी कर्मचारीविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको थियो । जसमध्ये चार कम्पनी तथा सञ्चालक उपस्थित भइसकेका छन् । तीनजना कर्मचारी पनि उपस्थित भएका छन्। नयाँपत्रिकाबाट