काठमाडौं। काठमाडौंको टोखा नगरपालिका धापासीमा रहेको पार्क भ्यु होराइजन अपार्टमेन्ट ‘भूतघर’ बनेर बसेको ७ वर्ष भयो। २०७२ सालको भूकम्प पछि सुनसान बनेको होराइजन अपार्टमेन्टमा यतिबेला कोही बस्दैनन्।
भूकम्पले चर्काएपछि यो अपार्टमेन्ट न त भत्काइयो न त मर्मत नै गरियो। २२ रोपनी १२ आना जग्गामा फैलिएको ५ वटा भवनको १७ तलासम्मको यो अपार्टमेन्टमा यतिबेला गेटमा गार्डबाहेक कोही भेटिदैनन्।
१७ तलासम्मका गगनचुम्बी ५ वटा भवन, त्यहिँमाथि भूकम्पले चर्काएपछि यी भवनले भूत झैँ यहाँका स्थानीयलाई तर्साइरहन्छ। महाभूकम्पपछि यस भवन वरपरका मानिसहरु ढुक्कले सुत्न सकेका छैनन्। यसै पनि भूकम्पले तर्साएको मन झन नजिकको बडेमानका भवन सम्झिएपछि लागेको निन्द्रा पनि भाग्ने गरेको स्थानीय बताउँछन्।
आवासीय प्रयोजनका लागि भन्दै २०६७ सालदेखि बनाउन सुरु गरिएको यो अपार्टमेन्छ २०७० सालमा निर्माण सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएको दुई वर्ष नबित्तै २०७२ सालमा गएको भूकम्पले भवनका केही भाग चर्कियो। त्यसपछि यी भवनमा अहिले एकजना पनि मानिस बस्दैनन् ।
बरुण डेभलपर्स प्राइभेट लिमिटेडको नाममा निर्माण गरिएको उक्त अपार्टमेन्ट २०७२ को भूकम्पपछि बस्नका लागि अयोग्य जस्तै भयो । सुरुमा जम्मा ११ तलाको भवन निर्माण गर्ने भनी सम्झौता र सार्वजनिक सुनुवाइ गरेको अपार्टमेन्टले पछि १७ तलासम्मको अपार्टमेन्ट निर्माण गरेपछि भूकम्पले यो अपार्टमेन्टको अवस्था नाजुक बनाइदियो ।
सहरी विकास तथा भवन निर्माण विभागले उक्त अपार्टमेन्टलाई रातो स्टिकर उपलब्ध गरायो र बस्नका लागि अयोग्य घोषणा गरिदियो। त्यसपछि भने स्थानीयको डर झन बढ्यो। अपार्टमेन्टकै ठिक तल घर भएका एक वृद्ध भूकम्पको एक वर्षसम्म आफ्नै घरमा बसेनन्। भूकम्प जाँदा अपार्टमेन्टका भित्ता भत्किएर आफ्नै घरमा समेत क्षति भएपछि उनलाई घरमा बस्न पनि कसरी मनले मानोस्? तर जाने ठाउँ कतै नभएपछि उनी एक वर्षपछि पुन आफ्नै घर फर्किए तर सँधै पानी पर्दा होस वा हावा चल्दा, सानो भूकम्प जाँदा पनि उनको मन डराउँछ, रातभर निन्द्रा लाग्दैन।
भवनका कारण आफूहरु त्रसित भएको भन्दै पटक पटक स्थानीयले आवाज उठाउँदै आएका छन्। तर उनीहरुको कुरा कहिँकतै भने सुनिएको पाइन्दैन। स्थानीले सकेसम्म भवन नै भत्काउनु पर्ने माग गर्दै आएका छन्।
भवन रोट्रोफिट गरेर बस्नका लागि योग्य छ भने पनि पहिले सरकारी मान्छे र इन्जिनियरहरु आएर ग्यारेन्टी गर्नुपर्ने उनीहरुको भनाइ छ। बस्नका लागि योग्य भएको ठहर भएपनि स्वीकृति लिएर बनाएको ११ तलासम्मलाई रेट्रोफिट गर्न दिएर बाँकी भवन भत्काउनु पर्ने स्थानीय बताउँछन्।
पार्क भ्यु होराइजन भारतीय व्यावसायिक ग्रुप आरजे कर्पको सब्सिडरी कम्पनी वरुण डेभलपर्स प्रालिले निर्माण गरेको हो।
कम्पनीले होराइजन अपार्टमेन्ट निर्माणपछि ९० प्रतिशत बढी फ्ल्याटहरु भारतीय नागरिकलाई नै बेचेको थियो भन्ने पनि बुझिएको छ।