काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा सडक विभागमा प्रयोगशाला स्थापना भएको छ। सडकको गुणस्तरलाई दिगो र दीर्घकालीन गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को पहलमा प्रयोगशाला निर्माण गरिएको हो।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेका छन्। प्रयोगशालाको निर्माण तथा उपकरणको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदान अन्तर्गत रहेको छ।
आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा सकटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको ६.३८ अर्ब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। यसैगरी एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको भन्दै अत्याधुनिक प्रयोगशाला एमसीसी र नेपालबीचको साझेदारीका क्रममा महत्वपूर्ण कदम रहेको बताए।
त्यसैगरी एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मत सम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गरे।
प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण नेपाल सरकार तथा एमसीसीबीच २९ भदौ २०७४ मा हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अशं हो।
एमसीए नेपालले सडक विभागलाई सडक मर्मत आयोेजनाअन्तर्गत ४४ दशमलब ५३ करोड बराबरको प्राविधिक सहयोग उपलब्ध गराउने छ। उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापानका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मत सम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ।
त्यस्तै करिब १६ दशमलब ५९ करोड मूल्यको सुुपरपेभ आस्फाल्ट मिक्स डिजाइन्सम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टोमिटर लगायतका उपकरण जडान गरिएको छ।