काठमाडौं। अमेरिकी वायुसेवा कम्पनी युनाइटेड एयरलाइन्स र सिंगापुरको ध्वजावाहक कम्पनी सिंगापुर एयरलाइन्सबीच सहकार्य हुने भएको छ। व्यवसायिक क्षमता विस्तारका लागि स्टार अलायन्सका सदस्य यी दुई कम्पनीबीच सहकार्य हुने भएको हो।
यी कम्पनीले नयाँ गन्तव्यहरुमा कोड सेयरिङ क्षमता विस्तार गरेका हुन्। दुई कम्पनीबीचको सम्झौताअनुसार कोड सेयरिङमार्फत यात्रुले अमरिका, दक्षिणपूर्वी एसिया, एसिया प्रशान्त क्षेत्र लगायतमा पर्ने विभिन्न मुलुकहरुका लागि उडान सेवा लिन सक्नेछन्।
युनाइटेड एयरका अनुसार, यो सम्झौताबाट यात्रुले सिंगापुर एयरलाइन्समार्फत थप नौवटा गन्तव्यमा उडान सेवा लिन सक्नेछन्। यीमध्ये सातवटा गन्तव्य दक्षिणपूर्वी एसियाका छन्। यसमा बन्दरसेरी वेगवान, सिम रिप, क्वालालाम्पुर, मलेसिया, दिनपसार, जाकर्ता, सुरावय लगायतका गन्तब्यहरु रहेका छन्।
यसैगरी, सिंगापुर एयरलाइन्सका यात्रुले युनाइटेड एयरलाइन्ससँगको कोडसेयरिङ सेवामार्फत अमेरिकाको अस्टिन, बाल्टिमोर, बोइस, क्लेभेल्याण्ड, डेनभर, होनोलुलु, लस भेगास, फोनिक्स, रेनो र साक्रामेन्टो लगायत गन्तव्यमा उडान गर्न सक्नेछ्न्।