काठमाडौं। अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान १८ घण्टा हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको हो।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको बताइएको छ। प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ।
अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्ने बताइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ।
विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ। अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन। नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन्। नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ।
कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ।