काठमाडौं। कञ्चनजंघा हिमाल आरोहणका लागि ४७ आरोही आधार शिविर पुगेका छन्। यस वर्ष यतिधेरै आरोही कञ्चनजंघा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन्।
दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजंघा आधार शिविर पुग्ने गर्छन्। दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजंघा आधार शिविर पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीले जनाएको छ।
आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको बताइएको छ।
केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन्। यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीले जनाएको छ।
कञ्चनजंघा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन्। आधार शिविर आउने क्रम जारी रहेको छ। समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजंघा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निरास बनेका थिए। कञ्चनजंघा आउने पर्यटकलाई लक्ष्य गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो। कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थिए।
अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ। अहिले कञ्चनजंघा क्षेत्रमा पर्यटक बढ्न थालेका छन्।