काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार (भोलि) देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडी धर्ना दिने भएको छ। वैशाख ८ गतेदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिँदै आएको महासंघले बिहीबारदेखि बालुवाटारमा धर्ना दिने भएको हो।
आन्दोलनका विभिन्न शान्तिपूर्ण कार्यक्रमहरु गर्दै गर्दा पनि आफूहरुको माग पूरा नभएपछि अब बालुवाटारमै धर्ना बस्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। निर्माण व्यवसायीहरूले भोलिदेखि बिहान ९ देखि १० बजेसम्म दैनिक एक घण्टा बालुवाटारमा शान्तिपूर्ण धर्ना दिने भएका छन्।
निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु लगायतको संशोधन तथा खारेजीको माग गर्दै महासंघले आन्दोलन थालेको छ। महासंघले वैशाख ११ गतेदेखि 'निर्माण होलिडे' घोषणा गरी देशभरका निर्माण कार्य ठप्प पारेको छ।
महासंघका अध्यक्ष सिंहले आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम निरन्तर जारी राख्ने बताएका छन्। उनले शान्तिपूर्ण धर्नाबाट माग सम्बोधन नभए आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
आफूहरुको मागप्रति प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायत विभिन्न सम्बन्धीत निकायमा जानकारी गराउँदा पनि कुनै निकाय संवेदनशील नबनेको भन्दै अध्यक्ष सिंहले निर्माण होलिडे गर्नु आफूहरुको बाध्यता भएको बताए। २० लाख श्रमिकलाई रोजगारी दिने देशको ६५ प्रतिशत बजेट खर्च गर्ने निर्माण उद्योग धरासायी भएको भन्दै सरकारले देशको अर्थतन्त्र चलायमान बनाइराख्न भएपनि निर्माण उद्योगलाई धरासायी हुन दिन नहुने बताए।
सरकारलाई सहयोग गर्ने उद्देश्यले नै आफूहरुले निर्माण होलिडे घोषणा गरेको अध्यक्ष सिंहको भनाइ छ। उनका अनुसार तत्काल मूल्यवृद्धिका समयमा अतिआवश्यक आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने र बाँकी आयोजनालाई निर्माण सामाग्रीको मूल्य सहज भएसम्म म्याद थप गरेमा सरकार र निर्माण व्यवसायी दुवैलाई सहज हुनेछ।
त्यसैगरी सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनले आफूहरुको ९० प्रतिशत माग पूरा भएपनि १० प्रतिशत पूरा नभएको मागका कारण १५ हजार साना निर्माण व्यवसायी मारमा परेको बताए। साना व्यवसायीको स्तर वृद्धि हुनै नसक्ने नियमावलीलाई सच्याउनुपर्ने अध्यक्ष सिंहको भनाइ छ।