काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए।
प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन्।
उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए।
‘उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ। रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ।’ प्रवक्ता बर्तौलाले भने।
अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ। रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ।
विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे।
बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे।
एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन्।