काठमाडौं। कोभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघोषित लोडसेडिङको मारमा परेका छन्। अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन्।
विद्युत अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधरण पनि सहज ढंगले काम गर्न पाएका छैनन्। अत्याधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको बताइएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको जनाएको छ।
दिनको समयमा पनि पटक–पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको संघको गुनासो छ।
घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विधुत गएर ती वस्तु उत्पादन नभई फाल्नु पर्ने हुन्छ जसले लागत पनि बढेको छ।
रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघले बताएको छ। यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको छ।