गजुरी गाउपालिका ३ पुराक्सिङका स्थानीयले राखेको सोलार । तस्बिर : सरिता श्रेष्ठ/कान्तिपुर
धादिङ। झलमल्ल बिजुली बालिदिने, बाटो बनाइदिने, घरघरमा खानेपानी ल्याइदिने भनेर हरेक चुनावमा नेताहरु मतादाताका घरघर धाए। पन्चायती व्यवस्थादेखि २०७४ को चुनावसम्म सबै पाटीका नेता गाउँ आए, आश्वासन बाँडे अनि मतदाता रिझाए। ‘न गाउँमा बिजुली बल्यो, न खानेपानी आयो न त सडक। आशैआशमा भोट दिए, नेताका दैनिकी फेरिए तर गाउँ फेरिएन,’ पुराक्सिङका कृष्णबहादुर चेपाङ भन्छन्, ‘नेताज्यू अब त हामीलाई नझुक्याउनुस्।’
गजुरी गाउँपालिका–३ पुराक्सिङमा अझै बिजुली बल्दैन। जेनतेन सडक खनिए पनि मोटर मुख देखिन्न। खानेपानीका लागि घण्टौं धाउनुपर्ने समस्या ज्युँका त्युँ छ। पाखो बारीको उब्जनीले ६ महिना खान पुग्दैन। नजिकै कुनै विद्यालय छैन, स्वास्थ्य सेवा लिन निकै टाढा धाउनुपर्छ। ‘हरेक पटक भोट माग्न आउँदा गाउँको विकास गर्ने र जनताको मुहार फेरिदिने आश्वासन मात्रै पाउँछौँ,’ ‘जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै भएको छ।’
कृष्णबहादुर अहिले पनि टुकी बारेल उज्यालो खोजिरहन्छन्। २०७३ सालमा किनेर ल्याएको सोलारले काम गर्दैन। पुस माघमा घाम देख्न पाइँदैन, चिसोमा सोलारले कामै गर्दैन। असार, साउनमा हुरीवतास, असिना पानीले सोलारमा क्षति पुर्याइदिन्छ। वर्षौँदेखि उज्यालोको आसमा रेहेको पुराक्सिङको दुख देख्ने कोही भएनन्। रातको समयमा सर्प, खजुराजस्ता विषालु जीवजस्तुले सताउँछ।
गाउँमा बिजुली पुर्याउने भेनर लगिएका पोल बाटोमै लथालिंग छन्। केही परबाट सडक खन्न थालिएको छ तर पहिरोले पुरिएपछि त्यतिकै छाडिएको छ। त्यहि सडक हुँदै भोट माग्न नेताहरु आउँछन् तर बाटो बनाउने चिन्ता कसैलाई छैन।
बिजुलीबत्ती नहुँदा विद्यार्थीहरु टुकीको भरमा पढ्छन्। गाउँ नजिकैको महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी ११ वर्षीय अन्जना चेपाङ गाउँमा विजुलीबत्ती नहुँदा पढाइमा समस्या भएको बताउँछिन्। ‘स्कुलमा सरमिसले जति पढाउनुभयो, आफूले जति पढ्यो त्यसैका आधारमा परीक्षा दिने हो,’ उनी भन्छिन्, ‘घरमा त बिजुली छैन, पढ्नै पाउँदैन टुकी बालेर गृहकार्य गर्छु।’
गजुरीको मात्रै होइन, बेनिघाट रोराङका बस्तीमा पनि बिजुलीबत्ति पुगेको छैन, सडक पुगेको छैन। पानी लिन घण्टौं धाउनुपर्छ। ब्रुसबाङ समुद्री सतहबाट १ हजार ८ सय ४५ मिटर उचाइमा पर्ने विकट बस्ती हो। त्यहाँ ३६ घरपरिवार चेपाङहरु बस्दै आइरहेका छन्। आधारभूत आवश्यकतासमेत पुर्याउन नसकिने अवस्था आएपछि बस्नी नै सारिदिने भनेर तयारी गरेको गाउँपालिकाले अहिलेसम्म आश्वासन पूरा गर्न सकेको छैन। भोट माग्दै, आश्वासन दिँदै, मन जिताउन हरेक चुनाव भए पनि नेताहरु बस्तीसम्म पुग्छन् तर दोहोर्याएर फर्किँदैनन्। उही विकट, उही काकाकुल बस्ती र उही खाद्य संकटले नछाडेको ब्रुसबाङका सोमीलाल चेपाङले दुखेसो गरे।
वर्षको ६ महिना उत्पादन गरेको खाद्यान्न, बाँकी महिनामा गिठ्ठा, भ्याकुर र साग, सिस्नुको भर। खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन। न उपयुक्त स्वास्थ्यचौकी, विद्यालय नै छ न शौचालय, बाटोघाटो छ। वर्षैँदेखि यस्तै समस्याले पिरोलेका ब्रुसवाङवासीलाई वस्ती नै सारिदिने आश्वासन दिएका थिए। ‘हाम्रो बस्ती २०६४ सालदेखि सार्ने कुरा गरेका थिए,’ सोमीलाल भन्छन्, ‘एउटा आउँछन्, अर्को आउँछन्, बोलेर जान्छन् तर हामीलाई आशैआशमा राख्छन्।’
ब्रुसबाङमा आधारभूत विकासका पूर्वाधार निर्माणका लागि करोडौं खर्च हुने र धेरै समय लाग्ने भएपछि बस्ती नै सार्न धेरै अगाडिदेखि कुरा चल्दै आइरहेको छ। प्रशासन, जिल्ला समन्वय समिति, राजनीतिक दल, गाउँपालिका, विभिन्न संघसंस्थाले खानेपानीको जोहो गर्न प्रयास पनि गरेका थिए तर धेरै लागत लाग्ने र खानेपानी पुर्याउने उपयुक्त विकल्प नभेटिएपछि सरोकारवाला पनि आजित बनेका थिए।
ब्रुसवाङका चेपाङ समुदायका मुख्य आवश्यकता भनेको खानेपानी हो। खानेपानीको जोहो गर्न गरेको दुख सम्झदै फूलमाया चेपाङ भन्छिन्, ‘हामीलाई सबैभन्दा पहिले त खानेपानीको आवश्यकता छ, त्यसपछि खाद्यन्न, सरसफाइ तथा जीविकोपार्जनको अन्य कुराहरु चाहिन्छ।’ ‘पानीसमेत धीत मारेर खान पाएका छैनौं, खाने अन्न छैन, स्वास्थ्य चौकी छैन,’ उनी भन्छिन्, ‘बस्ती नै सारिदिने भनेर नेताहरु आउँछन्, आश्वासन दिन्छन्, हामीलाई झुक्यायो, आशा मात्र देखायो।’ गाउँवासीले आफूहरु मानव भएर बाँच्नका लागि कुनै पनि पूर्वाधार गाउँमा नभएकाले खानेपानी, खाद्यान्न, शिक्षा, स्वास्थ्इ, पोषण, सुरक्षित आवास, सडक र बिजुली लगायतको व्यवस्था गर्न ध्यानाकर्षणसमेत गराइरहेका छन्।आजको कान्तिपुर दैनिकबाट