काठमाडौं। विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ।
सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन्। उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए। उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ रुपैयाँ मूल्य अभिवृद्धि करमार्फतको रकम तिर्न बाँकी रहेको पाइएको हो।
आन्तरिक राजस्व कार्यालय ठमेलले बिहीबार एक सूचना जारी गरेर कर बक्यौता दाखिला गर्न भनेको छ। शाही कांग्रेस डोल्पा सभापतिसमेत रहेका छन्। शक्तिकेन्द्रको आडमा समयमै आयोजनाको निर्माण नगर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ।
सिद्धिसाईले विभिन्न ठाउँमा सडक पूर्वाधारसम्बन्धी ठेक्का लिएर अलपत्र पार्ने गरेको समेत पाइएको छ। शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवा भन्ज्याङ (१० किलोमिटर) खण्ड वर्षौंदेखि कालोपत्रे नगरी अलपत्र पारेको छ।
तेस्रोपटक थप भएको म्याद सकिँदासमेत कालोपत्र बिछ्याउने कार्य सुरु भएको छैन। हालसम्म सेखुवा–चखेवा भन्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ। शाहीकै सिद्धिसाई संलग्न महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम पनि अलपत्र छ। भारत कन्ट्रक्सन–सिद्धिसाई जेभीले २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो।
राष्ट्रिय गौरवको आयोजनामध्येकै मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बाग्लुङ–घोडाबाँधे सडकको काम पनि सिद्धिसाईले अलपत्र छाडेको पाइएको छ। उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको हो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम पनि अलपत्र रहेको छ।
राजधानी दैनिकबाट