काठमाडौं। आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू आआफ्ना योजना र एजेन्डा लिएर वडावडा, टोलटोल र मतदाताको दैलोदैलो पुगिरहेका छन्। चुनावी घरदैलो अभियानमा केन्द्रित रहेका उम्मेदवारहरूको भिडमा नै छन् हेटौंडा–५ बाट एमालेका उम्मेदवार सुशील घिमिरे पनि।
अधिकांश स्थानीय तहमा पुरानै अनुहारको उपस्थिति देखिए पनि उनी वडाका पुराना विकासप्रेमी तथा जनताको माझमा रमाएका व्यक्ति हुन्। ‘हेटौंडा ५ मा आशालाग्दा युवामध्येमा पर्छन् सुशील, विकासप्रेमी मान्छ,’ एमाले सचिवालय सदस्य ईश्वर ढुंगानाले भने ‘उनको नेतृत्वले हेटौंडा–५ लाई सुन्दर र नमुना बनाउनेछ।’
सुशील पूर्वराष्ट्रिय बक्सिङ खेलाडी हुन्। सरल र इमानदार व्यक्तिका रूपमा छवि बनाएको घिमिरेलाई एमालेले वडाबाट सर्वसम्मत वडाको अध्यक्षका लागि सिफारिस गरेपछि वडाबासीमा आशा बढेको उनले बताए।
हेटौंडाको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी घिमिरेले अगुवाइ गरेको केही कामले उनको लगाव र क्षमता परीक्षण भइसकेको बताउँछन् सो वडाका सुरेश लामिछाने।
घिमिरेको अगुवाइमा देशकै नमुना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ। घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए। पछि मार्सल आर्टमा राम्रो भविष्य नदेखेपछि २०५४ सालमा बक्सिङ खेल्न सुरु गरेका उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जीत हासिल गरे।
बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको १०औं दक्षिण एसियाली खेलकुद ९साग०को रजतपदक रहेको उनले बताए। २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलोपटक नेपाल च्याम्पियन भएका थिए। १२ अन्तर्राष्ट्रिय खेलमा उनले तीनवटा उपाधि जितेको बताए।
सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आबद्ध भएका उनी सशस्त्रको टिमबाट खेल्न सुरु गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बने।
२०६० सालदेखि निरन्तर राष्ट्रिय च्याम्पियन भए। घिमिरे भन्छन्, ‘सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो। त्यहाँ खेल्न जाँदा पहिलोपटक दशरथ रंगशाला घुम्न पुगे, रंगशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै रंगशाला भइदिए हुन्थ्यो भन्ने सधैं मनमा लागिरहन्थ्यो। त्यो सयममा रंगशाला बनाउन सक्ने आँट नभए पनि सरकारले बनाउँछ कि भन्ने पनि आश थियो। यदि सरकारले बनाएन भने आफैंले बनाउँछु भन्ने सपना पनि बोकेर हिँड्थे सधैं।’
खेल जीवन निरन्तर चलिरहँदा केही बाध्यता र केही रहर बोकेर खेल जीवन छाडेर मकाउ पुगे उनी। ‘मकाउको बसाइमा पनि निरन्तर रंगशाला बनाउने कुरा खेलिरहन्थ्यो,’ उनले भने, ‘सात वर्ष मकाउ बसें, त्यहाँ बस्दा साथीभाइको कपाल काटेर आएको पैसा जम्मा गरेर रंगशाला निर्माणका लागि अक्षयकोष बनाए।
घिमिरेले २०५५ सालताका ६ वर्ष पिप्लेचोकमा आफू र क्लबका साथीभाइ मिलेर सैलुन चलाएका थिए। कपाल काटेबापत सैलुनबाट प्रतिव्यक्ति आउने ५ रुपैयाँ जम्मा गरेर क्लबको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउन र खाजा खान खर्चिन्थे उनी। यसरी जम्मा गरिएको पैसाबाट अन्य ठाउँमा हुने प्रतियोगितामा क्लबका खेलाडीहरूलाई खेल्न लैजाने गरेका उनको पछि लागेर खेल जीवनमा रमाइरहेका खेलाडीको स्मरणमा ताजै छ आज पनि।
हेटौंडा फर्केपछि रंगशाला बनाउने सपनाले उनलाई निदाउन दिएन । २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो। गोल्ड कप हेर्न बाँसको प्याराफिट बनाइएको थियो, यो देखेर उनलाई अझै औडाहा भयो, दर्शको व्यापक भीड, प्याराफिट भने बाँसको। खेल हेर्दा हेर्दै हौसिएर उफ्रन खोज्दा लडेर दुर्घटना हुने जोखिम उत्तिकै।
गोल्ड कपको उद्घाटन गर्न पुगे हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत। सुशीलले आफ्नो कुरा राखिहाले ‘मेयर साप कतिन्जेलसम्म यस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्ने रु आफ्नै ठाउँमा राम्रो रंगशाला बनाउन पाए हुन्थ्यो नि’ मेयर महतले सकारात्मक जवाफ दिएपछि घिमिरेलाई थप हौसला मिल्यो।
त्यसलगतै २०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँचलगायत निर्माण लागत अनुमान गरियो। रंगशाला निर्माणका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो। सुशील आफैं लागि परे रंगशाला बनाउन । अन्नतः लागत अनुमानभन्दा आधा कम अर्थात् झन्डै २ करोड रुपैयाँमा रंगशाला निर्माण सम्पन भयो।
बिहानैदेखि साँझसम्म रंगशालामा साबेल र पिक बोकेर भिडिरहेका भेटिन्थे सुशील। उनको जोसलाई सघाए स्थानीय युवा र व्यवसायीले र सघायो स्थानीय सरकारले पनि।
होस्टे गर्नेको खाँचो थियो सुशीलले होस्टे गरे हैंसेमा थपिए अरू रुचिकर व्यक्तिहरू र बन्यो आकर्षक रंगशाला हेटौंडा–५ क्याम्पाडाँडामा। करिब पाँच बिघा क्षेत्रफलमा निर्माण भएको रंगशालामा करिब १० हजार दर्शक अटाउने क्षमताको छ। रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशीलले बताए।
जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएको थियो। निर्माण कार्यमा लाग्ने श्रम स्थानीयले जनश्रमदानमा सहयोग गरेका हुन्। रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग भएन। यसअघि पनि उनले हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेका थिए, भौतिक निर्माणमा उनको यो अनुभव रंगशला निर्माणमा समेत फलदायी बन्यो। राजधानी दैनिकबाट