फाइल तस्बिर
काठमाडौं। बाँके जिल्लामा ५ सय भन्दा बढी विकास आयोजनाका काम अलपत्र परेका छन्। निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५ सय भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका हुन्।
मूल्यवृद्धि अनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले बताए।
उनका अनुसार निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन्।
चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्च समेत प्रभावित नहुने भएको छ।
बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन्। अहिले भइरहेको अप्रत्यासीत मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको संघका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ।
निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८/७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताए।
निर्माण व्यवसायीले गत वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरी देशभरका निर्माण कार्य ठप्प पारेका छन्। निर्माण व्यवसायी महासंले वैशाख ८ देखि र जिल्ला संघ तथा प्रदेश महासंघले वैशाख १३ देखि निरन्तर धर्ना कार्यक्रम पनि गर्दै आएका थिए। वैशाख १५ गते सरकारले महासंघलाई वार्ताका लागि बोलाएपछि भने महासंघले अर्को सूचना नआएसम्मलाई सम्पूर्ण धर्नानाका कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ।