जुम्ला। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जुम्लामा शुरु गरेका अधिकांश योजना अलपत्र अवस्था छन्। मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा जुम्लामा शुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजनाहरू अलपत्र परेका हुन्।
योजना छुटाउने र शुरुको वर्षमा थोरै रकम छुट्टाएर पछि बजेट व्यवस्थापन नहुँदा सामाजिक विकास मन्त्रालयका योजना अलपत्र रहेका छन्। जसमध्ये एक योजना हो। सरस्वती मावि कुडारीको पक्की विद्यालय भवन।
सामाजिक विकास मन्त्रालयले विगत दुई वर्षदेखि निर्माण थालेको उक्त विद्यालय भवन बजेट अभावका कारण अलपत्र परेको छ। बजेट अभावले ६ कोठे भवनको निर्माण अधुरै छ। मन्त्रालयले झण्डै ५० लाखमा विद्यालय भवन निर्माण थालेको थियो। उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक रामविलास यादवले बताए।
‘अहिलेसम्म पहिलो किस्ता १५ लाख,दोस्रो किस्ता नौ लाख र तेस्रो किस्ता ६ लाख गरी ३० लाख बजेट प्राप्त भएको छ।’ प्रधानाध्यापक यादवले भने,“कन्टिनजेन्सी रकम काटेर बाँकी १८ लाख २० हजार ६ सय रकम मन्त्रालयले सययमै निकासा नदिँदा निर्माण काय अलपत्र परेको। विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत सकिएपनि पूर्णता भएको छैन।”
मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ मा मावि पूर्वाधार विकास कार्यक्रम अन्तरगत जुम्लाका आठ विद्यालयमा ६ कोठे भवन निर्माणका लागि ५०/५० लाख बजेट विनियोजन गरेको थियो। तर तिला गाउँपालिका ३ जुम्ला कुडारी स्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयको भवन सहित अन्य भवन पनि पूर्ण भएका छैनन्।
त्यस्तै बजेट अभावकै कारण सामाजिक विकास मन्त्रालयबाट निर्माण भइरहेको भलिबल प्याराफिट अलपत्र अवस्थामा परेको छ। पातारासीमा रहेको हाईअल्टीच्युट ट्रेनिङ सेन्टर पनि वर्षौँदेखि अधुरै रहेको छ। सुविधा सम्पन्न ट्रेनिङ सेन्टर निर्माण हुने डिपिआर भएपनि माटो सम्याउने बाहेक बजेट अभावले अरू काम भएको छैन।
यता सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले सरस्वती प्राविधिक मावि कुडारीको भवन, १४ लाख ५३ हजार ८ सय रुपैयाँ अभाव रहेको बताए। उनका अनुसार पातारासीको लौठचौस्थितमा बन्दै गरेको हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर भलिबल प्याराफिट निर्माणका लागि आवश्यक एक करोड २५ लाख बजेट अपुग भएकोले माग गरिएको छ।
पटक पटक बजेट पठाउन अनुरोध गरिएको छ। उनले भने,“मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकोले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ। चुनावले पनि काम अघि नबढेको छैन। ”
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६।०७७ मा सबै पालिकामा नमुना विद्यालय निर्माणका लागि भनेर ५० लाखको बजेट विनियोजन भएपनि कोभिड महामारीले निर्माण कार्य सम्पन्न हुन नसकेको बताए।
उनका अनुसार यस वर्ष बजेट सम्बोधन हुन नसकेपनि आगामी वर्षमा अधुरो रहेका सबै योजना सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ। योजना अलपत्र हुनुमा मन्त्रालयको कमजोरी भएपनि चालु आ.व.मा बजेट रकमान्तरण हुन सक्ने अवस्था नहुँदा समस्या हुने उनको भनाई छ। कारोबार दैनिकबाट