काठमाडौं। नेपाल विद्युत प्राधिकरण विरुद्ध विभिन्न व्यापारीक संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। पूर्वका तीन मुख्य व्यावसायिक छाता संगठनले प्राधिकरणलाई वैशाख २० सम्मको अल्टिमेटम दिँदै २१ देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
शुक्रबार मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) को प्रदेश नम्बर १ ले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। चार दिनदेखि उद्योगमा विद्युत ठप्प भएको भन्दै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका हुन्।
व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले प्राधिकरणले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा विगत चार दिनदेखि बिजुली ठप्प पारेको बताए। पूर्वका उद्योग पनि विद्युत् कटौतीसँगै पूर्णतः बन्द भएको दुखेसो गर्दै उनले अब आन्दोलनमा उत्रनु व्यवसायीको बाध्यता भएको बताए।
अल्टिमेटमअनुसार सुनुवाइ नभएमा २१ गते प्राधिकरणको विराटनगर शाखामा तालाबन्दी गर्ने कार्यक्रम तय भएको अध्यक्ष रिजालले जानकारी दिए। साथै, २२ गते के गर्ने भन्ने निर्णय २१ गते गरिने बताए ।
रिजालले विद्युत् प्राधिकरणले उद्योगका लागि तत्काल विद्युत् होलिडेको घोषणा गर्नुपर्ने वा लोडसेडिङको घोषणा गर्नुपर्ने वा तुरुन्त विद्युत् आपूर्ति नियमित गरिनुपर्ने बताए।
बैंकको चर्को ब्याज, तरलता अभाव, आयातमा नियन्त्रण र उधारो लगायतका समस्याले थलिएका व्यवसायीलाई अहिले विद्युत् कटौतीले थप मार परेको व्यवसायीहरुको गुनासो छ।
उद्योग सङ्गठन मोरङका कार्यवाहक अध्यक्ष प्रदीप मुरारकाले प्राधिकरणले केही नीतिगत निर्णय गरेमा नेपालमै कम्तीमा १५० मेगावाट बिजुली तत्काल वृद्धि हुने धारणा राखे। प्राधिकरणकै त्रुटिपूर्ण नीतिले विद्युत् अभावको समस्या चर्किएको दोष उनले लगाए ।